पाल्पामा कोरोना संक्रमण बढ्दो अवस्थामा

बिहीबार ५ जना थपिए


कविराज नेपाल,पाल्पा

पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै पाल्पा जिल्लामा रहेका १० वटा स्थानीय तहमध्ये जिल्ला सदरमुकाम तानसेन नगरपालिकाबाहेक सवै ९ वटा स्थानीय तहमा कोरोना भाइरस पुष्टि भएको छ । ५० जना व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । पूर्वखोलाका एक जना संक्रमितको उपचारको क्रममा मत्यु भएको थियो ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा बिहीबार जिल्लामा ५ जना संक्रमित थपिएको पुष्टि भएको हो । थपिएका संक्रमित रिब्दीकोट गाउँपालिकाका४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार २३ वर्षदेखि ५५ वर्ष उमेर समूहका पाँचै जना पुरुष रहेका छन् । रिब्दीकोट गाउँपालिकाका ४ जना संक्रमित जेठ १५ गते भारतबाट आएका थिए ।

उनीहरूमध्ये १ जना वडा नं १ ख्याहास्थित शारदा मावि शान्तिचौरको क्वारेन्टाइनमा, वडा नं ६ ठिमुरेस्थित नवज्योति प्रावि इजरडाडाँको क्वारेन्टाइनमा २ जना र वडा न.७ को पालुङ्गमा रहेको कालिका निमावि बतासेको क्वारेन्टाइनमा १ जना बस्दै आएका थिए । उनीहरूको अवस्था सामान्य रहेको गाउँपालिकाका अध्यक्ष नारायण जीसीले बताउनुभयो ।

संक्रमित चारै जनालाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा निर्माण गरिएको आइसुलेसन सेन्टरमा लगेको अध्यक्ष जीसीले जानकारी दिनुभयो । गाउँपालिकाले उनीहरूको पीसीआर परीक्षणका लागि जेठ ३० स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशालामा पठाएको थियो ।

त्यस्तै तिनाउ गाउँपालिका–६ का संक्रमित पुरुष १५ दिनअघि भारतबाट आएर चौबीसमाइलस्थित कल्याणी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनलाई तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकाले तानसेन नर्सिङ स्कुलमा संयुक्तरूपमा निर्माण गरेको आइसोलेसन सेन्टरमा पठाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । संक्रमित पुरुषको अवस्था सामान्य रहेको छ ।

त्यस्तै वुधबार मात्र तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत अर्घाखाँचीका एक जनामा कोरोना परीक्षणका क्रममा पोजिटिभ देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइसोलेसनमा बसेका सक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।