सडक निर्माणमा विवाद हुँदा नगरपालिकामा ताला


 विनोद सिंह विष्ट, बैतडी

सडक निर्माणको विषयमा विवाद हुँदा बैतडीको पाटन नगरपालिकामा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । वडा नं ४ मा रहेको जोलाबाज–बस्ती–ख्याउटेइजर–पाखाधार–रौलेश्वर सडक निर्माणमा विवाद हुँदा नगरपालिकामा तालाबन्दी गरिएको हो ।

प्रदेश सरकारको ३८ लाख बजेटमा निर्माण हुन लागेको उक्त सडकको निर्माणको विषयमा विवाद उत्पन्न हुँदा नगरपालिकामा तालाबन्दी गरिएको पाटनबाट पत्रकार वसन्त विष्टले जानकारी दिनुभयो ।

बस्तीमा यसअघि पनि बस्ती–रौलेश्वर सडक सञ्चालनमा रहेको भए पनि फेरि सोही सडकको ५ मिटरको दूरी भएर उक्त सडक निर्माण गर्न लाग्दा विवाद भएको उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलसिंह महराले आफ्नो घरमा सडक पु¥याउने हिसाबले सडक निर्माण गरेकाले तत्काल सडक निर्माणको काम रोक्न भनेर स्थानीयबासिन्दाले नगरपालिका घेराउ गर्दै तालाबन्दी गरेका हुन् ।

यसका साथै उक्त सडक निर्माणले पानीका मुहान सुक्नुका साथै जंगलमा पनि क्षति पुगेको स्थानीयको आरोप रहेको छ । आफ्नो माग पूरा नहुँदासम्म तालाबन्दी नखोल्ने उनीहरूको अडान छ ।

स्थानीयले प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । यो विषयमा नगरप्रमुख केशवबहादुर चन्दले पनि प्रमुख प्रशासकीय अधिकृतले आफूले दिएको सल्लाहबमोजिम काम नगर्दा समस्या आएको बताउनुभएको छ ।

दुई महिनाअघि नै पानीको मुहान र जंगललाई क्षति नपुग्ने गरी सडक निर्माणको काम अगाडि बढाउन कार्यकारी अधिकृतलाई आफूले भनेको भए पनि सोअनुसार का नभएको नगरप्रमुख चन्दले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भने कार्यालयभन्दा बाहिर रहेको उहाँले बताउनुभयो ।

उता प्रमुख प्रशासकीय अधिकृत कमलसिंह महरालाई पटक–पटक फोन गर्दा पनि फोन उठाउनुभएको छैन ।