भक्तपुरमा पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग

0
Shares

न्युज अफ नेपाल,भक्तपुर ।

बालकोट युवा समाजले नेपाल प्रेस युनियन भक्तपुर शाखाका पत्रकारहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरी सहयोग गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रेस युनियनका पत्रकारलाई आवश्यक प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री समाजका संयोजक तथा नेपाली कांग्रेस सुर्यविनायक नगरपालिका नगर कार्यसमितिका उपसभापति रवि राणाले आज एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।

समाजले ५० जना पत्रकारलाई प्रेस ज्याकेट, माक्स, पन्जा सहयोग संयोजक राणाले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक राणाले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । कोरोना विरुद्धको लडाईमा पत्रकार अग्रभाग बसेर लडिरहेको बताउँदै, उनीहरुको सुरक्षाका लागि समाजले सक्दो सहयोग जारी राख्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार एवं प्रेस युनियनका केन्द्रीय सल्लाहकार कविर राणाले संकटको बेलामा गरेको सानो सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारलाई ठुलो राहत मिल्ने बताउनुभयो । कार्यक्रममा प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन सिल्पकारले पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा पत्रकार महासंघका प्रदेश सचिब अमर भुजु,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,पुर्व अध्यक्ष नारायणसुन्दर किलम्बु,युनियनका सल्लाहकार केदारनाथ कोईराला,युनियनका जिल्ला सचिब सुन्दर शिल्पकार लगायतको सहभागिता रहेकोथियो ।