क्वारेन्टिनवासीको अनुभव : ‘सामाजिक अपराधीसरह व्यवहार हुँदा मन रोयो’

चिरञ्जीवी खड्का

0
Shares

  • चिरञ्जीवी खड्का

म खोटाङ जिल्लास्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको क्बारेन्टिनको वासिन्दा हुँ । क्वारेन्टिनमा मानव बस्ने खालको अवस्था छैन । तर, अरु सबै समस्या जसरी–तसरी सहेपनि क्वारेन्टिनवासीलाई स्थानीय व्यक्तिले सामाजिक अपराधीसरह व्यवहार गरेको चाहिं सर्वाधिक पीडादायी बनेको छ ।

क्वारेन्टिनमा क्षमताभन्दा चार गुणा बढी परिमाणमा व्यक्तिहरु खाँदिएको छ । महिला र पुरुष एउटै कम्पाउण्डमा राखिएको छ । महिला र पुरुषका लागि भिन्नाभिन्नै शौचालय पनि छैन । पानीको धारा एउटै छ, तर त्यो पिउन सकिन्न । पिउनका लागि बाल्टिनमा पानी ल्याएर दिन्छन्, तर त्यो पनि फोहोर हुन्छ ।

रातमा निद्रा पर्दैन, सत्नै सकिन्न कसरी निद्रा पर्नु । लामखुट्टे र नाम नखुलेका अनेक किराहरुले लगातार आक्रमण गरिरहन्छन् । रक्तचाप, मधुमेय, दम आदि दीर्घ रोगका विरामी पनि सरोबर भएर क्वारेन्टिनमा बस्छन् । उनीहरुले आफ्नै घरमा बस्न दिइयोस् भनेर अनुरोध नगरेका होइनन्, तर कुनै सुनुवाइ भएन ।

हामी क्वारेन्टिनवासीलाई त ध्यान दिन सकिएन–सकिएन, तर हामीलाई परीक्षणमा आउने स्वास्थ्यकर्मीलाई पनि मास्क, पञ्जा र स्यानिटाइजरजस्ता आधारभूत सुरक्षा वस्तु दिइएको छैन । नेपालभित्र जहाँबाट आएपनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने सरकारी निर्देशन छ तर आरडिटी वा पिसिआर कुनै परीक्षण गरिन्न । क्वारेन्टिन अवधि सकेका व्यक्तिलाई कुनै चेक जाच नगरी घर पठाउने गरिन्छ ।

नुहाउने ठाऊको अभावका कारण चर्मरोग लाग्ने सम्भावना बढेको छ । सुत्ने ठाउँ नपुगेर कसैलाई खाट कसैको लागि भुईं उपलव्ध छ । कोरोना नियन्त्रणमा पालिकाको ७० लाख खर्च भएको बताइएको छ तर आधारभूत सुविधा पनि प्राप्त हुन सकेको छैन । तैपनि यो सुविधासम्पन्नमध्ये एक क्वारेन्टिनमा गनिएकाले यसको वासिन्दा हुन पाएकोमा खुशी नै मान्नुपर्ने होला !