काठमाडौं, (नेस)
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा प्रधानमन्त्रीलाई ध्यानकर्षणपत्र दर्ता गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण बुझाएलगत्तै कांग्रेसले सरकारमाथि दबाब बढाउन संसद्मा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको हो ।
सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै बुधवार कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्प भुसाल र सांसद गगन थापाले दर्ता गराएको ध्यानाकर्षणपत्रमा सरकारले संवेदनशील नभएकाले संसद्ले चासो राख्नुपर्ने जनाइएको छ ।
कोरोना परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको उपयुक्त व्यवस्थापन गर्न, विदेशबाट आउनेहरुको उचित व्यवस्थापन गर्न समयमै ध्यानाकर्षण गराए पनि सरकारको नसुनेको बताउँदै दर्ता गराएको प्रस्तावमा भनिएको छ– ‘गर्नुपर्ने काम नगर्ने, तर भ्रष्टाचार तथा अनियमितताका एकपछि अर्को प्रकरण सार्वजनिक हुनुले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको छ ।’
यसले जनस्वास्थ्यमाथि खेलबाड हुनुका साथै राज्यस्रोतको दुरुपयोग भएको कांग्रेसले आरोप लगाएको छ । १० बुँदे ध्यानाकर्षण प्रस्तावमा अब संसद्मा छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिइएको छ ।
स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भनिएको १० अर्बको विवरणको बारेमा चित्तबुझ्दो जवाफ सरकारबाट नआएको बताउँदै लकडाउनको अवधिमा सयौं नागरिकले आत्महत्या गर्दा पनि सरकारले नागरिकप्रति चरम निराशा देखाएको बताइएको छ ।











प्रतिक्रिया