यूएस ओपन निर्धारित मितिमा नै हुने

0
Shares

वाशिन्टन, एजेन्सी ।

वर्षको अन्तिम ग्रान्डस्लामबाट परिचित यूएस ओपन निर्धारित मितिमा नै हुने भएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा आउन नसकेपनि युएस टेनिस संघले कडा सतर्कता अपनाउदै निर्धारित मितिमा नै यूएस ओपन सञ्चानल गर्ने बताएको हो । प्रतियोगिता अगस्त ३१ देखि सेप्टेम्बर १३ सम्म फ्लसिङ्ग मिडोजको कोर्टमा दर्शकको अनुपस्थितिमा हुने भएको छ ।

न्यूयोर्क यात्रा खतरापूर्ण रहने भन्दै केही खेलाडीहरुले ध्यानाकर्षण गराउँदै आएपनि प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । निर्धारित मितिमा प्रतियोगिता हुने भएपछि यसपटक टेनिसका केही चर्चित हस्तीहरु सहभागी नहुने सम्भावना बढेको छ ।

स्पेनिस लेजेन्ड राफेल नाडालले यसअघि नै पूर्ण रुपमा कोरोनाको महामारी अन्त्य नहुञ्जेल प्रतिस्पर्धात्मक टेनिसमा आफू नफर्किने निर्णय गरेका थिए । त्यस्तै, स्वीस लेजेन्ड रोजर फेडेररले पनि शल्यक्रियाका कारण २०२१ मा मात्र कोर्टमा फर्किने बताएका थिए ।

अस्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोसले प्रतियोगिता गराउन लागि परेका आयोजकहरुलाई स्वार्थीको संज्ञा दिएका थिए । विश्व नम्बर एक नोभाक जोकोभिचले प्रतियोगिता सञ्चालनका लागि प्रस्तावित प्रोटोकल उपयुक्त नभएको बताउदै आएका छन् । युएस ओपन मात्र होईन, त्यसअघि अघि हुंदै आएको सिन्सिनाटी ओपन टेनिस प्रतियोगिता पनि फ्लसिङ्ग मिडोजको कोर्टमा नै हुने भएको छ ।