सत्तारुढ सांसद्कै असन्तुष्टि,बजेट पास नगरी प्रदेशसभा अनिश्चित

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । छलफलका क्रममा बुधबार बजेट किताब हात नपरेको र बजेट ‘हावादारी र समयअनुकूल नभएको’ भन्दै सांसद्हरुले विरोध गरेपछि बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बजेटको विषयमा सत्तारुढ दलभित्र पनि विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले हतारमा बैठक स्थगित गर्नुभयो । उहाँले कार्यव्यबस्था परामर्श समितिको बैठकबाट निर्णय नगरी र बैठक स्थगित गर्नेबारे पूर्वजानकारी नदिएरै बैठक स्थगित गर्नुभयो ।

प्रदेशसभामा असार १ गते आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले बजेट प्रस्तुत गरेको थियो । बजेटमाथि छलफल गरी बजेट पास गर्नुपर्ने समयमा अनिश्चितकालका लागि बैठक स्थगित भएको हो ।आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटको पुस्तक छलफल हुनुपूर्व सांसद्हरुलाई प्रदेशसभा सचिवालयले उपलब्ध गराउनुपर्ने प्रावधान थियो ।

बजेट किताब हात नपरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष सांसद्हरुले विरोध गरेपछि सभामुख श्रेष्ठले संसद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभयो । प्रदेशसभामा बजेटको रातो पुस्तक नपाएको र पुस्तक नपाएसम्म बजेटमाथिको छलफल अगाडि नबढाउने अडान सत्तापक्षकै प्रदेशसभा सदस्यले राखेपछि बैठक स्थगित गर्न सभामुख बाध्य हुनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ र उपनेता कृष्णलाल भँडेलले निरन्तर बैठक सञ्चालन गरेर बजेट पास गर्ने काम अगाडि बढाउन आग्रह गर्नुभएको थियो । बजेट र केही विधेयक पारित गरिसकेपछि केही समय राखेर सभा सुरु गर्न उहाँहरुले आग्रह गर्नुभएको थियो ।

तर, सभामुख श्रेष्ठलाई सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बजेट पुस्तको बिस्तृत अध्ययन नगरेसम्म कुनै हालतमा बजेटबारे छलफल अघि नबढ्ने अडान राखेपछि श्रेष्ठले अनिश्चितकालका लागि सभा स्थगित गर्नुभएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बानियाँले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले संसद्लाई ढाँटेको बताउनुभयो ।

सञ्चारकर्मीसँगको कुराकानीमा नेता बानियाँले विनियोजन विधेयक सांसद्हरुलाई उपलब्ध नगराएर मन्त्री ढुंगेलले संसद् र सांसद्लाई ढाँटेको बताउनुभएको हो । बुधबार संसद् बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक २०७७ प्रस्तुत गरे पनि सांसद्हरुको हातमा नपरेको भन्दै उहाँले मन्त्री ढुंगेलले झुठो बोलेर संसद्को गरिमा घटाएको आरोप लगाउनुभयो ।

संसद्मा टेबुल भएको विधेयक सांसद्हरुको हातमा नपर्दा सांसद्हरु आक्रोशित र निरास भएको भन्दै उहाँले यस्तो प्रवृत्तिले बजेट पारित हुननसक्ने चेतावनी दिनुभयो । ‘विनियोजन विधेयकमा मन्त्रालयगतरुपमा योजना बाँडफाँट हुन्छ । त्यो पुस्तक सांसद्हरुले पाएनन्,’ उहाँले प्रश्न गर्नुभयो–किताब छापिएको छ भनेर संसद्लाई ढाँट्ने मन्त्रीले बजेटमा निष्पक्ष काम गर्नुभयो भनेर कसरी विश्वास गर्ने ?

कार्यव्यबस्था परामर्श समितिको बैठकमा सभामुख श्रेष्ठले रातो किताब भनेर चिनिने विनियोजन विधेयकको पुस्तक आइसकेको जानकारी दिए पनि टेबुल भएपछि सांसद्हरुले प्राप्त गर्न नसकेको बानियाँको भनाइ छ । अधिकांश सांसद्ले सरकार र सभामुखको मिलेमतोमा रातो किताब लुकाइएको आरोप लगाएका छन् ।

प्रदेशसभा सदस्यहरुले बजेटको रातो पुस्तक पढ्न पाउनुपर्छ भन्दै माग गरे पनि पुस्तक प्रदेशसभा सचिवालयमा उपलब्ध नभएका कारण बैठक स्थगित गर्नुपरेको सभामुख श्रेष्ठले बताउनुभयो । सत्तापक्षका प्रदेशसभा सदस्यहरु गणेश दुलाल, नारायणबहादुर सिलवाल, शशिजंग थापा, शान्तिप्रसाद पौडेललगायतले रातो पुस्तक नपाएसम्म छलफल नहुने अडान राख्नुभएको थियो ।

तर, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले भने सरकारले धेरै अध्ययन गरेर बजेट ल्याएको दाबी गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलले बजेट ‘हावादारी र समयअनुकूल नभएको’ टिप्पणी गरेका बेला मन्त्री ढुंगेलले बजेटले बागमती प्रदेशलाई देशकै पहिलो प्रदेश बनाउने जिकिर गर्नुभएको थियो ।

बुधबार सांसद्हरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढुंगेलले बजेट केही महत्वाकांक्षी भएको स्वीकारसहित सरकारी लक्ष्यअनुसार राजस्व संकलन गर्ने जिकिर गर्नुभएको थियो । कर तथा गैरकर राजस्वको प्रभावकारी अनुगमन गर्दा राजस्व वृद्धि हुने स्पष्ट पार्दै उहाँले घर तथा व्यबसाय करमा केही फेरबदल गरिएको हुँदा राजस्व बढ्न सक्ने दाबी गर्नुभएको थियो । तर, सांसद्हरुले उहाँको जवाफको प्रतिकार गरेका थिए ।