प्रदेश सरकारको सहयोगमा ५० शैयाको आईसोलेसन तयार


भूपराज बस्याल, स्याङ्जा ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका ३ ठाँउमा सुबिधा सम्पन्न आईसोलेसन कक्ष तयार भएकाछन् । अस्पतालको पूर्बाधार भएका ठाँउलाई आईसोलेशनमा परिणत गरिएको हो ।
पछिल्लो पटक गल्याङ नगरपालिकामा रहेको नगर अस्पताललाई आईसोलेशनमा परिणत गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग तथा गल्याङ नगरपालिकाको समन्वयमा आईसोलेशन वार्ड तयार पारिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पताललाई आईसोलेशनमा परिणत गर्नका लागि तत्काल प्रदेश सरकारबाट रु १० लाख प्राप्त भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
यो रकम निर्माण र संक्रमितको बसोबास तथा खाना, खाजामा खर्च गरिने उहाँले बताउनु भयो । क्वारेन्टीनको जिम्मा स्थानीयतहले र आईसोलेसनको जिम्मा प्रदेश सरकारले लिएको भन्दै प्रजिअ क्षेत्रीले भन्नुभयो, अपुग रकम प्रदेशबाट शोधभर्ना हुँदैजानेछ ।
प्रजिअ क्षेत्री स्याङ्जामा सरुवा भई आए लगत्तै गल्याङमा आईसोलेसन निर्माणका लागि सक्रियता देखाउनु भएको थियो । जिल्लामा संक्रमित बढिरहेको जानकारी पाउनासाथ सम्भव भएको र अस्पतालका पूर्बाधार भएको ठाँउलाई सुबिधा सम्पन्न आईसोलेसन बनाउन प्रशासन सक्रिय भएको प्रजिअ क्षेत्रीले स्पष्ट पार्नुभयो ।
गल्याङको आईसोलेसनमा मंगलबार नै चापाकोटका ३ जना संक्रमितलाई राखिएको प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो ।
यसअघि कालिका सामुदायिक अस्पतालमा ५० शैयाको आईसोलेशन वार्ड तयार गरि प्रयोगमा ल्याएको थियो जहाँ अहिले पनि ५० जना कोरोना संक्रमितलाई राखिएको छ ।
कालिका सामुदायिक अस्पताललाई आईसोलेशन वार्डमा परिणत गर्न प्रदेश सरकारबाट तत्काल १० लाख उपलव्ध गराईएको थियो भने संक्रमितहरुको खानाको व्यवस्था, उपचार खर्च र स्वास्थ्यकर्मीलाई दिनुपर्ने सेवा सुबिधा प्रदेशले ब्यहोर्ने स्वास्थ्य प्रमुख शर्माले बताउनु भयो ।
त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा पनि १० बेडको सुबिधा सम्पन्न आईसोलेशन वार्ड रहेको छ । पुतलीबजार नगरपालिकाको समन्वयमा निर्माण गरिएको आईसोलेशनको व्यवस्थापनका लागि प्रदेशले रु १० लाख उपलव्ध गराएको जिल्ला अस्पतालका प्रमुख डाक्टर शुसिल मरासिनीले जानकारी दिनुभयो
जिल्लामा जम्मा संक्रमित भएका ६४ जना मध्ये ७ जना निको भएर घर फर्किएका छन् भने १ जनाको निधन भएको छ । अन्य संक्रमित उपचारमा छन ।