बेलायती अनुसन्धानकर्ताले दाबी गरेको कोरोनाको औषधी नेपालमै सजिलै पाइने


काठमाडाैँ ।

कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेको औषधी (डेक्सामिथासोन स्टेरोयड) नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध भएको बताईएको छ ।

यो औषधि नेपालमा पनि दम लगायत हातखुट्टा सुन्निने रोगका बिरामीमा प्रयोग हुँदै आएको यो औषधिको प्रभावकारिता थप पुष्टि भए संक्रमितको उपचारमा ठूलो सघाउ पुग्ने टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाले बताए।
यसमा अन्य देशले पनि अनुसन्धान गरिरहेको भन्दै बाँस्तोलाले यसको उपयोगिता अन्य देशको अनुसन्धानमा पनि निर्भर हुने जनाए।

बाँस्तोलाले भने– ‘बेलायतले दाबी गरेको औषधिको प्रभावकारिता थप पुष्टि भए यसले नेपालमा पनि भोलि समस्या आइपरे ठूलो सहयोग पुग्नेछ।’

सस्तो र व्यापक रूपमा पाइने (डेक्सामिथासोन स्टेरोयड) ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको बेलायती अनुसन्धानकर्ताहरूको दाबी गरेको बिबिसीले जनाएको छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ।

प्रमुख अनुसन्धानकर्ता प्राध्यापक मार्टिन ल्यान्ड्रेका अनुसार यो औषधिले भेन्टिलेटरमा उपचार गर्नुपर्ने आठ बिरामीमध्ये एक र अक्सिजन दिनुपर्ने २५ मध्ये एकको मृत्यु कम गरेको पाइएको छ। ‘यो उत्साहजनक नतिजा हो,’ उनले भने।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको लडाइँमा यसलाई अहिलेसम्मकै ठूलो सफलता भएको बताएका छन्।