अफगानिस्तान हुँदै पाकिस्तानमा सलहको प्रवेश


इस्लामावाद, (एजेन्सी)

कोरोनाको विकराल चपेटामा फस्दै गइरहेको दक्षिण एसियामा अर्को विपत्तिको रूपमा देखिएको सलह आक्रमण रोकिएको छैन । पाकिस्तान हुँदै भारतका विभिन्न राज्यमा सलह आक्रमण भइरहेको छ । यसबीच अफगानिस्तानको मार्ग हुँदै सलहको एक नयाँ बथान पाकिस्तान पुगेको छ ।

अफगानिस्तानबाट यसरी सलह पाकिस्तान प्रवेश गरेको यो पहिलो घटना हो । सलहको नयाँ समूह अफगानिस्तान हुँदै पाकिस्तानको खैबर प्रान्तमा पुगेको पाकिस्तानको संसद्मा जानकारी गराइएको छ । सिन्ध र पन्जाब प्रान्तमा सलहले व्यापकस्तरमा अन्डा पारेको विज्ञहरूले जानकारी दिएका छन् । हालैका दिनमा भएको वर्षा सलहको प्रजननमा सहायक बनेको छ ।

पाकिस्तानको पन्जावमा सलहको प्रवेशले बालीनालीलाई ठूलो नोक्सान हुन सक्ने बताइएको छ । त्यसै गरी अफ्रिकाबाट पनि सलहको ठूलै समूह साउदी अरेबिया, इरान हुँदै पाकिस्तानतर्फ बढिरहेको विशेषज्ञहरूले बताएका छन् । यो समूहले जुलाईसम्ममा भारतमा ठूलो विनास गर्न सक्ने अनुमान गरिएको छ ।

जुलाईमा हुने यो हमला भीषण हुन सक्ने ठानिएको छ । त्यो बेलासम्म राजस्थानमा बाली हुर्किसक्ने भएकाले त्यो सलहको हमलाले नष्ट हुने त्रास बढेको छ ।