कलाकार लामाको उपचारका लागि सहयोग


हेटौंडा, (नेस)

हेटौंडाका कलाकार देव लामाको उपचारमा हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ। हेटौंडा–८, कमाने घर भई हाल काठमाडांै कलंकी बस्दै आएका कलाकार लामाको उपचारका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको हो।

विभिन्न रोगसँगै घाँटीको समस्याका कारण काठमाडांैमा उपचाररत लामाको थप उपचारका लागि ५० हजार सहयोग गरिएको उपमहानगरका मेयर हरिबहादुर महतले बताए। लामाको उपचारमा लागेका सहयोगीहरूलाई मेयर महतले ५० हजारको चेक हस्तान्तरण गरे। उपमहानगरपालिका र अभियानले संकलन गरेको रकम केही दिनमा हस्तान्तरण गरिने भएको छ।

हेटौंडाका कलाकारले पनि १ लाख ७ हजार ४८ रुपियाँ लामाको परिवारलाई सहयोग गरिसकेका छन्। अभियान जारी रहेको अभियन्ता रुपक महतले बताए। हेटौंडाका कलाकार आशाकाजी श्रेष्ठ, प्रलय चौलागाईंलगायतले संकलन गरेको रकम हस्तान्तरण गरिसकेका छन्। उनी लामो समयदेखि मस्तिष्क रक्तश्रावबाट थलिएका छन्।

उनी बाथरुममा लडेर घाइते भएका थिए। उपचारका क्रममा आर्थिक अवस्था कमजोर रहेको तर स्वास्थ्य अवस्थामा सुधार हुन नसकेकाले लामाको थप उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

घाइते भएपछि लामो समय उपचार गराइए पनि सफल नभएपछि प्यारालाइसिसको अवस्थामा पुगेका लामाको उपचारका लागि थप रकम आवश्यक रहेकाले त्यसका लागि पनि विभिन्नस्तरमा पहल भइरहेको हेटौंडेली कलाकार सुशान्त श्रेष्ठले जानकारी गराए।

अमेरिकास्थित तामाङ कोअपरेसन सोसाइटीले पनि लामाको उपचारका लागि चार लाख रुपियाँ सहयोग गरेको छ। हेटौंडामा पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहेका लामा माओवादी सशस्त्र द्वन्द्वको समयमा पत्रकारिता गर्न असहज भएपछि काठमाडौं गएका थिए । त्यसपछि उनी चलचित्र लेखन, निर्माण र कलाकारितामा सक्रिय रहँदै आएका छन्।