गाउँको भिरबाट लडेर मान्छे मरे हेटौंडामा दाहसंस्कार गर्ने चेतावनी

0
Shares

  • न्युज अफ नेपाल, हेटौंडा।

बागमती प्रदेशका प्रदेशसभा सदस्य ओमबहादुर ग्लान (प्रदीप) ले मकवानपुरको बिकट राक्सिराङको परेवाभिरमा बाटो नभएका कारण लडेर वर्षेनी मान्छे मर्ने गरेको अबस्थाको जानकारी गराउँदै अब पनि उक्त क्षेत्रमा लडेर मान्छेको मृत्यु भए राजधानी हेटौंडाको बुद्धचोकमा ल्याएर शवको दाहसंस्कार गर्ने चेतावनी दिनुभएको छ ।

बजेटमाथिको छलफलका क्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो ।मकवानपुरको बिकट राक्सिराङबाट मनहरी बजार आउँदै गर्दा मनहरी खोलाले बगाउँदा राक्सिराङ गाउपालिका वडा नम्बर–४, पञ्जनी निवासी ४५ वर्षीय प्रेमबहादुर मोक्तानको केही समयअघि मृत्यु भएको थियो ।

उहाँलाई परेवाभिर मुनिको खोला तर्दै गर्दा मनहरी खोलाले बगाएको थियो । खोलाले बगाएको शव राक्सिराङ गाउँपालिकाको मुकामनजिक चैनपुरमा फेला परेको थियो । मोक्तान त एक प्रतिनिधिमात्र हुनुहुन्छ । राक्सिराङ गाउँपालिकाको परेवाभिर भन्ने स्थानमा सडक नहुँदा भिर र खोलाबाट यात्रा गर्नुपर्दा बर्षेनी कम्तिमा ३ जनाको मृत्यु हुँदै आएको छ ।

मकवानपुरको दुर्गम राक्सिराङका–४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर–१, २, ७, ८ का बासिन्दा त्यही बाटो भएर र दैनिक उपभोग्य सामग्री खरिद तथा अन्य प्रशासनिक कामका लागि परेवाभिरमा ज्यानको बाजी लगाएर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यता छ ।

गत वर्षामा भिर पार गर्न नसक्दा २ जनाको मृत्यु भयो । राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लका अनुसार परेवाभिरका कारणले एक दशकबीचमा १२ बढी स्थानीयको ज्यान गइसकेको छ । मनहरी खोलामा पर्ने परेवाभिर स्थानीयका लागि हैरानको विषय बनेको छ ।

प्रदेश सांसद् ग्लानले परेवाभिरलाई काटेर चालु आर्थिक वर्षमा सडक खन्नका लागि प्रदेश सरकारसमक्ष माग गर्नुभएको थियो । तर, बजेटले बोलेन । ‘करिब ५ सय मिटर रहेको उक्त चट्टानी भिरको बाटो हातले समाउँदै वर्षामा नुनतेल र बिरामी बोकेर लैजानुपर्ने बाध्यता छ,’ सांसद् ग्लानकै भाषामा उक्त ‘ज्यानमारा भिर’ को ‘बाटो’ हुँदै वर्षको करिब ४ महिना काँकडा, राक्सिराङ, भार्ता र डाँडाखर्कका कम्तिमा १० हजार मानिस आवतजावत गर्नुपर्ने बाध्यतामा छन् ।

वर्षामा खोलाको बाटो अबरुद्ध भएपछि प्राकृतिक भिरका चट्टान समातेर ज्यान जोखिममा पारेर हिँड्नुको बिकल्प छैन । ग्लानका अनुसार उक्त बाटोका अंशहरु धादिङतिर बाटो बनिसकेको छ भने नुवाकोटमा त गाडी नै गुडिसकेको छ । मकवानपुर खण्डमा भने ट्रयाक नै खुलेको छैन ।

उक्त कार्यका लागि प्रदेशका मन्त्रीहरु र सांसद्हरुलाई भिरको मुनि लगेर अबस्थाबारे स्थलगत जानकारी गराउँदा पनि न बजेट न त नीति तथा कार्यक्रममा समेटिएको भन्दै सांसद् ग्लानले सांसद्मा आक्रोश पोख्नुभएको हो ।राक्सिराङ गाउँपालिकाले परेवाभिर खण्डमा बाटो बनाउन १ करोड विनियोजन गरेको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

चैनपुर–बोटबारी–परेवाभिर–साइचा–खैराङ–मलेखु सडकको डीपीआर सुरु गरिएको छ । गाउँपालिका र प्रदेश सरकारको लगानीमा निर्माण गर्न लागिएको सडकलाई मुग्लिन–काठमाडौं सडकको बैकल्पिकको रुपमा हेरिएको छ ।मनहरीदेखि मलेखुसम्म करिब ५८ किमी दुरी रहने सडकले राक्सिराङ गाउँपालिका चेपाङ र तामाङ बाहुल्यता रहेको बिकट क्षेत्रलाई सडक सञ्जालमा जोडेर समग्र विकासमा टेवा दिने विश्वास लिइएको छ ।

राक्सिराङ गाउँपालिकाको परेवाभिर भन्ने स्थानमा सडक नहुँदा भिर र खोलाबाट यात्रा गर्नुपर्दा बर्षेनी २/३ जनाको मृत्यु हुँदै आएकोमा उक्त सडकले अबको यात्रा सहज र सुरक्षित हुने गाउँपालिका अध्यक्ष मल्लले विश्वास व्यक्त गर्नुभयो ।राक्सिराङ गाउँपालिका वडा नम्बर–५ को बोटबारी–परेवाभिर जोड्ने सडक र मनहरी गाउँपालिका वडा नम्बर–५ को दर्दरा–वसन्तपुर सडकका लागि उक्त क्षेत्रका कांग्रेस सांसद् इन्द्रबहादुर बानियाँले ५०/५० लाख रुपियाँ बजेट बाँडफाँट गर्नुभएको थियो ।

राक्सिराङ गाउँपालिका वडा नम्बर–४ मा रहेको परेवाभिरमा ज्यान जोखिममा राखेर हिँड्न बाध्य यात्रुको सुबिधाका लागि केही समयअघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पैदलमार्ग निर्माण गरेका थिए । राक्सिराङ गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष सञ्जय कोइरालाको पहल तथा अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थानीय वडा कमिटीका अगुवाहरु मिलेर पैदलमार्ग निर्माण गरेका हुन् ।

वर्षामा बाटो सुधारका लागि कहीं कतैबाट आर्थिक स्रोत उपलब्ध नभएपछि जनश्रममै आधारित रही बाटोको काम गरिएको अध्यक्ष कोइरालाले बताउनुभयो । बाटो निर्माणका लागि लगिएको एउटा ट्रयाक्टरसमेत बगाएको थियो । माथिबाट पैदल हिँड्ने साँघुरो बाटो पनि भत्किएपछि भिरको बाटोमा ढुंगा समाउँदै हिँड्नुपर्ने बाध्यता छ ।