प्रदेश–१ काे बजेटः कृषिलाई प्राथमिकता



सरोज यादव, विराटनगर

प्रदेश–१ सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपियाँको बजेट ल्याएको छ । कृषि र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोेले सार्वजनिक गर्नुभएकोे बजेटमा कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख विनियोजन गरिएको छ ।

मन्त्री आङ्बोले पहाडी क्षेत्रलाई माटो सुधार, मुख्य खाद्यान्न बाली मकै, गहुँ, धानको उत्पादकत्व बढाउनका लागि उन्नत मल, बीउको उत्पादन प्रवद्र्धन गरिने, कृषिमा व्यक्तिलाई अनुदान रकमलाई निरुत्साहित गर्दै समुदाय र सहकारीमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो । यस्तै प्रदेशलाई अर्गानिक बनाउन ९ करोड ८४ लाख बजेट छुट्याइएको छ भने धूलो दूध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि साना कृषि यन्त्रहरू उपलब्ध गराउन ६ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश–१ सरकारले प्रत्येक स्थानीय तहलाई समानरूपमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । यस्तै प्रत्येक स्थानीय तहलाई वित्तीय समानीकरणका लागि ५० लाख र समपूरक अनुदान १ करोड उपलब्ध गराउने बताउनुभयो । प्रत्येक स्थानीय तहलाई तोकिएको रकमभन्दा नघट्ने गरी रकम उपलब्ध गराउने उहाँको मन्तव्य छ । प्रदेश–१ सरकारले प्रदेश सांसदहरूमार्फत खर्च गर्ने सांसद विकास कोषको बजेट घटाएको छ ।

सरकारले सांसद विकास कोष भनेर चिनिने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाएको हो । चालू आर्थिक वर्षमा प्रदेशका ५८ वटा निर्वाचन क्षेत्रका लागि २ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि २ करोड छुट्याइएको छ ।

यस्तै चालू आर्थिक वर्षमा ९३ जना प्रदेशसभा सदस्यमार्फत खर्च हुने ५० लाख रुपियाँ दरको कार्यक्रममा वृद्धि गरी १ करोड पु¥याइएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समग्र यातायात तथा पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ७४ करोड रुपियाँ बजेट छुट्याएको छ । यस्तै विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ ।

त्यसका लागि आवश्यक औषधि र उपकरण खरिदका लागि ५० करोड रुपियाँ विनियोजन गरिएको छ । यस्तै प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरोन्नति गर्ने र जिल्ला अस्पतालहरूलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरोन्नति गर्ने, २५ शैय्याको अस्पताललाई स्मार्ट अस्पतालका रूपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । यस्तै मोरङको उर्लाबारीमा रहेको मंगबलारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरको रूपमा विकास गर्न बजेट विनियोजन गरिएको वक्तव्यका क्रममा उल्लेख छ ।

आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले पेस गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापन तर्फ ४ करोड रुपियाँ रहेको छ । यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ । गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपियाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्