सुरक्षा खोज्दै जन्मथलो छाडेर आएको ठाउँमै पहिरोले उजाडियो तुलबहादुरको परिवार

0
Shares

  • दुर्गाप्रसाद शर्मा ,दुर्लुङ्ग, पर्वत

दिनभर चर्कोे घाममा हर्लक्क बढेका मकैमा छाहारीमा कोदो रोपेर तुलबहादुर थापाको परिवार खानपनि सहित आराम गर्ने तरखरमा थियो । दिनभर कोदो रोपाईमा लागेको थकाईलाई बिस्तारमा सुतेर सुस्ताउने कल्पना गर्दै गर्दै नजिककै सडकमा गाडी गुडे जस्तो आवाज सहित आएको पहिरोले बिस्तारा र घर सहित तुलबहादुर संगै परिवारका छ सदस्यलाई कहिल्यै नफर्कने गरि चुँडेर लग्यो ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गको काउले गाउँमा तुलबहादुर थापाको परिवार बस्न थालेको डेढ दशक मात्रै भएको थियो । दुर्लुङ्ग ढकालबारीमा जन्मनु भएको थियो तुलबहादुर थापा । जन्मथलोमा सधै पहिरोको जोखिम भएपछि सुरक्षा खोज्दै गाउँको समथर जमिन भएको काउलेमा बासस्थान बनाउनुभयो ।

पल्लो ढकालबारीमा रहेको घर भएको जमिन सधै कोल्टे पर्ने र ढल्कने समस्या थियो । भिरालो जमिन सधैं बग्ने समस्या भएपछि पहिरोको उच्च जोखिम भएकोले तुलबहादुरले परिवारलाई सुरक्षित बनाउन काउले गाउँमा २०६२ सालमा घर बनाउनुभएको स्थानिय प्रभु गुरुङ्गले बताउनुभयो । ‘पहिरोको डरले परिवारलाई जोगाउन जन्मथलो छाड्नुभयो’ छिमेकी गुरुङ्गले भन्नुभयो ‘बाउबाजेको थातथलो छाडेर किनेको जमिनले पनि उहाँको परिवारलाई बचाउन सकेन, पहिरोमा सबै गुम्यो।’

कुस्मा नगरपालिकाको वडा नं ३ दुर्लुङ्गमा सबैभन्दा सुरक्षित ठाउँ मध्ये एउटा मानिन्थ्यो काउले गाउँ । त्यही काउले गाउँमा माथिबाट आएको पहिरोले तुलबहादुर थापा र कमला बिकको घर मात्रै बगाएन सिंगो परिवारको सपना पनि माटोमा बिलाई दियो । दिनभर चर्को गर्मी पछि गाउँमा गाग्री घोप्टाए जसरी पानी परेको थियो ।

एकैछिनमा जमिन हल्लन थाल्यो र गाडी दगुरे जस्तै आवाज संगै पहिरोले दुई घर बगायो र एक घर पुर्णरुपमा क्षतिग्रस्त बन्न पुगेको थियो । आफ्नै घरमा खाना खादै गर्दा ७० बर्षिया बृद्धा हस्तीदेबी पाध्याले पहिरो आएको थाहा नै पाउनु भएन । ढुंगेघरमा ठुलो पानी परेपनि टिनको छानोमा जस्तो आवाज नआउने भएकाले मेसो नपाएको बताउनुभयो ।

‘ढुंगेघरमा भित्र हुँदा पानी दर्केको पनि मेसो पाइन,’ उहाँले भन्नुभयो ‘खाना खादैँ गर्दा छोराबुहारीले आएर बाहिर निकालेपछि मात्रै बिनास भैसकेको पत्तो भयो।’ पहिरोले घर बगाएका तुलबहादुर र कमला बिकको घरसँगै जोडिएको छ ६२ वर्षीय भुवन गिरीको घर । भुवन गिरीको घरको आधा भाग पनि पहिरोले लगेको छ ।उहाँले घरमै किराना पसल र मासुको व्यवसाय गर्नुभएको छ ।

पहिरो जानुअघि छिमेकी युवा गौतम रेग्मी उनीकहाँ मासु किन्न आउनुभयो । भान्छामा तरकारी पकाउँदै गर्नुभएका भुवनले एकैछिन पर्खिन भन्नुभयो र यत्तिकैमा गड्याङ–गुडुङको आवाजसहित जमिन हल्लिन थाल्यो । भान्सामै आत्तिनुभएका भुवनलाई उहाँका छोरा अर्जुन र मासु लिन आएका गौतमले तानेर बाहिर निकाल्नुभयो  । लगत्तै पहिरोले उहाँको घरको आधाभन्दा धेरै भाग बगाएर लग्यो ।

मासु राखेको फ्रिज भएको कोठासहित तीन कोठा पहिरोले बगायो । ‘भान्सामा तरकारी पकाउँदै थिएँ, त्यही वेला आएका गौतमले मासु मागेका थिए, उनलाई एकछिन पर्ख भनें । त्यही वेला पहिरो आयो । मासु निकाल्न पल्लो कोठा गएको भए बाँच्ने रहेनछु, भाग्यले बाँचेँ,’ भुवनले भन्नुभयो ।