आजदेखि सरकारी कार्यलय खुल्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

आजदेखि सबै सरकारी कार्यालयहरु खुल्ने भएका छन । कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र १२ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउँन लागेका हुन ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्न भनेको छ । जसमध्ये बिहान ६ बजेदेखि १ बजेसम्म एउटा सिफ्ट र १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टमा कार्यालयहरू सञ्चालन हुनेछन ।

कार्यालय प्रभावकारी रूपमा सञ्चालन भए–नभएको बारेमा प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्नेछन् ।

कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न मन्त्रालयले भनेको छ ।