कोरोनाको रेड जोनका व्यवसायीद्वारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो



  • यमलाल भुसाल,बुटवल

कोरोना भाईरसका कारण रेडजोनमा परेका रुपन्देहीका व्यवसायीले सरकारले राहतको प्याकेज नल्याएको भन्दै गुनासो गरेका छन् । होटल व्यवसायी, पर्यटन, यातायात, व्यूटीपार्लर ,र नाइसंघ लगायतका व्यवसायीको शनिवार बुटवलमा भएको भेलाले कोरोनाको मारमा परेका व्यवसायिलाई सरकारले सम्बोधन गर्नेगरी राहतका प्याकेजहरु ल्याउन आग्रह गरेका हुन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पहलमा आयोजना गरिएको संयुक्त भेलामा बोल्ने रेडजोनमा परेका व्यवसायी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले राहतको प्याकेज ल्याउन सरकारसंग माग गरेका हुन् । अन्य क्षेत्रका व्यवसायी भन्दा आफुहरु लकडाउनका कारण बढी मारमा परेकाले व्यवसायीले बैंकको व्याज, घरभाडा , कर्मचारी तथा मजदुरहरुलाई मासिक रुपमा बुझाउने तलव दिन नसकेको, तथा विजुली र खानेपानी टेलिफोनको महशुल बुझाउन समस्या परेको गुनासो गरेका छन ।

लकडाउनको समयमा पनि अन्य व्यवसाय सञ्चालनमा आएपनि पर्यटन, यातायात, व्यूटीपार्लर, नाई, लगायतका व्यवसाय ठप्प भएकाले दैनिकी चलाउन पनि समस्या भएको व्यवसायीको गुनासो रहेको छ । सोही कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले सुरक्षाका मापदण्डहरु अपनाएर पर्यटनसंग जोडिएका व्यवसायलाई सहज बनाउंदै लान सकिने बताउनु भयो ।

उहांले बैंकको व्याज, घरभाडा र कर्मचारीलाई तलवसमेत दिन नसक्ने अवस्थामा व्यवसायी पुगेकाले बैंकको व्याजमा छुट वा सहुलियत के गरेर हुन्छ राहत उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको बताउनु भयो ।
पर्यटन व्यवसायी लकडाउन खुलाउनु नै पर्छ भन्ने पक्षमा नभएको तर व्यवसायी मारमा परेकाले व्यवसायीका मर्का बुझेर रातको प्याकेज ल्याउन पर्नेमा उहाँले जोड दिनुभयो ।

पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले कोरोना महामारी सबैको साझा विषय भएकाले आफुपनि बच्ने र अरुलाई पनि बचाउने गरी सरकार जिम्मेवार बन्नु पर्ने बताउनु भयो । व्यवसायीका समस्याप्रति सरकार जिम्मेवार नबने साझा एजेण्डा बनाएर अगाडी बढिने उहाँले बताउनु भयो ।

कार्यक्रममा मणिमुकुन्द उद्यान विकास केन्द्रका अध्यक्ष खेम लुइटेल, महिला उद्यमी शान्ती शर्मा तिमिल्सेना, टान प्रदेश ५ की वरिष्ठ उपाध्यक्ष रचना पन्त, व्यवसायी टंक पोखरेल, कुलचन्द्र पाण्डे, नाई संघका अध्यक्ष उमेश ठाकुर क्याटरिङ तथा पार्टी प्यालेका बलराम पौडेल लगायतले बोल्दै बैंकको व्याज छुट र घरभाडा छुटका लागि सरकार जिम्मेवार बन्न आग्रह गरेका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता र महासचिव माधव खनालको सञ्चालनमा भेला सम्पन्न भएको थियो । उक्त भेलाले सरकारसंग राहातका प्याकेज माग गर्नका लागि व्यवसायीहरुका समस्या र कोरोना महामारीमा कसरी व्यवसाय संचालन गर्ने भन्नेवारे मापदण्ड बनाउन खेम लुइटेलको संयोजकत्वमा समुन्द्र जिसी ,माधव नेपाल , माधव कुमार खनाल,रचना पन्त दधिराम खरेल टिका ज्ञवाली शान्ती शर्मा तिमिल्सेना पत्रकार यमलाल भुसाल सहितको समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्