सांसदको प्रश्नमा अर्थमन्त्रीको असन्तुष्टि



नेपाल समाचारपत्र, काठमाडौं

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको संसद् एमसीसी र चकलेटमय भएको भन्दै असन्तुष्टि पोख्नुभएको छ । बुधबार प्रतिनिधिसभामा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले बारम्बार चकलेटको कुरा गरेको प्रति गुनासो गर्नुभयो ।

उहाँले आव २०७१÷२०७२ देखि अघिल्लो आवसम्म चकलेटमा ३० प्रतिशत नै कर रहेको र चालु आवको बजेटमा ४० प्रतिशत बनाइएको थियो, आगामी आवको बजेटमा ३० प्रतिशतमा झारेको जानकारी गराउनुभयो ।

‘चकलेटमा अझै पनि ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भिएटी गर्दा पनि अहिले इफेक्टिभ ६६ प्रतिशत कर लाग्ने जानकारी गराउनुभयो । उहाँले चकलेट पनि खाद्य वस्तु भएकाले यसको कर किन बढाउनु भनेर आगामी आवमा ३० प्रतिशतमा झारेको बताउनुभयो ।

‘योभन्दा अघि ३० प्रतिशत राख्ने यसअघिका अर्थमन्त्रीले कुनै समूहसँग मिलेर ल्याएका हुन त भन्दै प्रश्न गर्नुभयो ।

उहाँले अहिले पनि अन्तःशुल्क र भिएटीसहित ५४ प्रतिशत इफेक्टिभ कर लाग्ने स्मरण गराउनुभयो । यस्ता विषयमा प्रश्न गर्दा मान्छेको निष्ठामा प्रश्न उठ्ने गरेको स्मरण गराउनुभयो ।

सामान्य परिमार्जन गर्दा व्यक्तिको निष्ठा र व्यवसायी घरानासँग जोडेर हेरिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीमा कर बढाइएको विषयमा व्यवसायी घरानासँग जोडेर प्रचार गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले दुई दशक लामो राजनीतिक जीवनको इमानदारिता र निष्ठामाथिको प्रश्न भएको बताउनुभयो ।

उहाँले जीवनमा कुनै पनि व्यावसायिक घरानाका लागि काम नगरेको र आगामी दिनमा काम नगर्ने बताउनुभयो ।

‘विद्युतीय सवारी चलाउने कुरामा सैद्धान्तिकरूपमा म पनि सहमत हो । काठमाडौंको ट्राफिक कन्ट्रोल विद्युतीय गाडी ल्याएर हुन्छ कि सार्वजनिक गाडी चलाएर हुन्छ यसमा पनि छलफल गरौं।’ –उहाँले भन्नुभयो ।

‘जेठ १ गतेदेखि १४ गतेका बीचमा आएका गाडीमध्ये ७ गतेसम्म ७५ वटा गाडी आयात भएका छन् । बजेटमा करको छलफल १४ गते राति मात्रै हुन्छ, त्यो रात मात्रै करको दर तय गरिन्छ।’ –उहाँले भन्नुभयो ।

खतिवडाले जेठ १४ गते कार्यालय समयअघि दुईवटा गाडी भन्सार छुटेको बताउनुभयो । उहाँले ११ गते गाडी आएर १३ गते र १४ गते दुई वटाभन्दा बढी गाडी नछुटेको दाबी गर्नुभयो ।

अहिले विद्युतीय गाडी दोब्बर आएको उहाँको दाबी छ । पुसमा १ सय १६ वटा, मंसिरमा सोही अनुपातमा र साउनमा ९५ वटा गाडी आएको बताउनुभयो ।

जेठमा ७९ वटा गाडी आएको बताउँदै कुन दिन कति गाडी आएका छन् भनेर सबैलाई सार्वजनिकरूपमा देखाउने दाबी गर्नुभयो । उहाँले ७ गतेभन्दा अघि नै कुनै सूचना चुहावट भएको पाएमा त्यसको छानबिन गर्न आग्रह गर्नुभएको छ ।

‘परीक्षा गरियोस्, परीक्षण गरियोस्, समिति बनाइयोस्, जाँच गरियोस्, म के कुरा ठोकुवा गर्छु भने अर्थमन्त्रालयले कुनै सूचना बाहिर चुहाएको छैन।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्