दमौली अस्पतालमा आइसीयु निर्माण शुरु

0
Shares

  • मिला दरै,तनहुँ

जिल्लाको सदरमुकाम स्थित दमौली अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) निर्माणको काम थालिएको छ । अस्पतालमा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष निर्माण थालिएको हो । यस अस्पतालमा प्रसुती, डाइलाइसिसका बिरामीलाई अचानक आइसीयुमा राख्नुपर्ने अवस्था भएमा पनि राख्नको लागि व्यवस्था नहुँदा समस्या हुने गरेको छ ।

२०७२ सालमा प्रसुती कक्षको सेवाका लागि निर्माण गरिएको भवनमा आइसीयु कक्ष निर्माण गर्न लागिएको हो । नयाँ भवनबाट सेवा प्रवाह भइरहेकोले पुरानोलाई सघन कक्षमा रुपान्तरण गर्न लागिएको अस्पतालले जनाएको छ । अस्पतालले हाल पुरानो भवनबाट इमरजेन्सी सेवा सञ्चालन गरिरहेको छ ।

जटिल प्रकारका बिरामीलाई उपचारका लागि बाहिर पठाउँदै आएकोमा आसीयु कक्ष निर्माण गरी सहज बनाउने तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार गण्डकी प्रदेशले बजेट विनीयोजन गरेपश्चात अस्पतालमा आइसीयुको निर्माण कार्य शुरु गरिएको हो ।

आइसीयुका लागि आवश्यक कोठा लगायतका भौतिक पूर्वाधार निर्माणको लागि २० लाख रुपैयाँ बजेट विनीयोजन भएको उहाँले बताउनुभयो । पूर्वाधार निर्माणको लागि विनीयोजित बजेटको टेन्डर भई निर्माणको थालनी गरिएको उहाँको भनाई छ । कोभिड १९ बाट संक्रमितको आपतकालिन उपचारका लागि सघन कक्ष निर्माण गर्न लागिएको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार आइसीयु कक्ष निर्माणको काम असार १५ गतेसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । अस्पतालका प्रमुख डा.सुनिल पौडेलले बहुवर्षीय योजनाको रुपमा अस्पतालको विकास हुने बताउनुभयो । ‘बन्दाबन्दी र कोरोनाको संक्रमणले तोकिएको समयमा सम्पन्न गर्ने अवस्था नरहेकाले बहुवर्षीय योजना बनाई सम्पन्न गर्ने तयारी भएको छ,’ डा.पौडेलले भन्नुभयो ।

आपतकालीन बिरामी अस्पतालमा आएमा पोखरा, चितवन र काठमाडौं पठाउने गरिएको छ । हालको लागि कोरोना लक्षित आइसीयु कक्ष भएपनि भविष्यमा सो कक्षले अन्य बिरामीलाई समेत सेवा प्रवाहमा सहज हुनेछ ।

सामग्री खरिदको तयारी

अस्पतालमा आवश्यक सामग्री खरिदका लागि भने टेण्डर गर्न बाँकी रहेको छ । बन्दाबन्दीले गर्दा टेण्डरको प्रक्रियामा रहेको अस्पतालले जनाएको छ । सामग्री खरिदका लागि प्रदेश सरकारबाट एक करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

‘बन्दाबन्दीले गर्दा सामग्री ल्याउन अलि असहज भएको छ, बाँकी रकम उपकरण खरीदमा खर्च गरिनेछ,’ अध्यक्ष अधिकारीले भन्नुभयो । प्रदेश सरकारले अस्पताल मर्मतसम्भार र विकासका लागि ४० लाख बजेट विनीयोजन गरेको छ ।

अधिकारीका अनुसार अस्पतालको मर्मतसम्भारका लागि विनीयोजित बजेटबाट टिकट लिने प्रणालीमा प्रविधिको प्रयोग मार्फत् चिकित्सकले कोठामै बसेर बिरामीको हिस्ट्री हेर्न सक्ने व्यवस्था गर्ने तयारी गरिएको छ । अस्पतालका फोहोरजन्य पदार्थलाई व्यवस्थापन अटो प्लेक्स गरी अस्पतालले नै गरी विक्री गर्ने योजना बनाइएको उनले जानकारी दिनुभयो ।

डेलीभरी वार्ड, अपरेशन, चाइल्ड कक्षको पार्टेसन गर्ने तयारी गरिएको उहाँको भनाई छ । गण्डकी प्रदेश सरकारले जिल्ला स्तरका अस्पतालमा सघन कक्ष बनाउने निर्णय गरे अनुरुप निर्माणको काम सुरु गरिएको हो । दमौली अस्पतालमा नै सुविधा भएपछि धेरै रकम खर्चेर टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

अस्पतालमा छैन आइसोलेशन

कोभिड १९ फैलिएसँगै सरकारले जिल्ला अस्पतालहरुमा आइसोलेशन बनाउन निर्देश गरेको छ । तर जिल्लाकै ठूलो र सरकारी अस्पताल दमौली अस्पतालमा भने आइसोलेशन कक्ष निर्माण गरिएको छैन । तनहँुमा पहिलो पटक गत आइतबार एक व्यक्तिमा कोरोनाको संक्रमण देखिए पश्चात् प्रदेश सरकारले अस्पतालमा भेन्टिलेटर सहितको आइसीयु निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुष जेठ १० गते भारतबाट आएर व्यास नगरपालिका–१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । दमौली अस्पतालमा सघन कक्ष नहुँदा बिरामीलाई आवश्यक उपचारको लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पठाउनु परेको थियो ।

त्यस्तै गत बुधबार दुई जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु दुवैको पनि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा आइसोलेशन कक्ष बनाउने तयारी गरिएको भएपनि उक्त भवन दमौली अस्पतालको पहुँच भन्दा बाहिर भएकाले समस्या भएको डा.पौडेलले बताउनुभयो ।

आइसोलेशन बनाउनुमा समस्या

प्रसुती र डाइलाइसिसका बिरामीमा कोभिड १९ छिटो सर्ने हुँदा अस्पतालमा आइसोलेशन कक्ष बनाउनमा समस्या भएको अस्पतालले जनाएको छ । जिल्लाका अन्य अस्पताल र स्वास्थ्य चौकीमा प्रसुती र डाइलाइसिसका बिरामीको उपचार नहुने हुँदा आइसोलेशन निर्माण गर्न सहज भएपनि दमौली अस्पतालमा भने समस्या रहेको जनाइएको छ ।

‘एक रोग लागेर उपचार भइरहेको बिरामीमा छिटो कोभिड १९ को संक्रमण सर्ने हुन्छ, प्रसुती र डाइलाइसिसका बिरामीको सुरक्षाका लागि अस्पतालमा कोरोनाका बिरामीको उपचारका लागि आइसोलेशन बनाउनुमा अन्यौल भएको हो, तर पुरानो प्रसुति कक्षमा बनाउन आइसोलेशन कक्ष बनाउने योजना भने बनेको छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा.सुनिल पौडेलले भन्नुभयो ।