पहिरोले गोठ पुरिँदा दुईको मृत्यु


न्युज अफ नेपाल, म्याग्दी ।

गएराती परेको भीषण वर्षाले उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीको कोटगाउँमा गोठ पुरिँदा दुई जनाको ज्यान गएको छ ।

वर्षासँगै लेदो माटोसहित आएको बाढीले गोठ पुर्दा कोटगाउँका ५० वर्षीया हमाया शेरपुञ्जा र उहाँकी ४ वर्षीया नातिनी सिमरन छन्त्यालको मृत्यु भएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

मध्यराती १२ बजेको समयमा भीषण वर्षासँगै आएको बाढीपहिरोले गोठ पुरिँदा उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोले गोठमा रहेको अन्नपात र भाँडावर्तन समेत पूर्ण रुपमा क्षति पु¥याएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

पहिरोबाट ढुङ्गामाटोले बनेको र जस्तापाताले छाएको कच्ची गोठमा समेत क्षति पुगेको छ भने पशु चौपायालाई क्षति नगरेको प्रहरीले जनाएको छ । घटनालगत्तै पाखापानी प्रहरीचौकीबाट गएको प्रहरी टोली र स्थानीयवासीले

मृतकको उद्दार गरेका थिए । अहिले जिल्लाबाट प्रहरीको थप टोली घटनास्थलतर्फ पठाइएको छ ।