नारायणीलगायतका नदी प्रदुषण हुन दिनुको कारण पेश गर्न सर्वोच्चको आदेश

0
Shares

  • न्यूज अफ नेपाल,काठमाडौं

नारायणी, दरौदी, चेपे, मादी, मस्र्याङ्दी, काली गण्डकी, बूढी गण्डकीलगायतका नदीहरुमा प्रदुषण गर्न दिनुको कारण पेश गर्न मंगलबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश मीरा खड्काको इजलासले १५ दिन भित्र त्यस्तो कारण पेश गर्न आदेश दिएको हो ।

ती नदीहरुमा उद्योग धन्दा तथा ब्यक्तिले समेत फोहर मैला फाली प्रदुषण गरेका उल्लेख गर्दै त्यस किसिमबाट फोहर मैला नगर्नको लागि आदेश दिन रिट निवेदनमा माग गरिएको थियो । कानून, न्याय तथा सामाजिक कल्याण मञ्च, नेपालका अधिवक्ताहरु जगन्नाथ मिश्र, शारदा गुरुङ, नवीन कार्की र सुमिता डंगोलद्धारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा कोही पनि ब्यक्ति तथा निकायबाट ती नदीहरुमा ढल तथा फोहर मैला विसर्जन गरेमा कानून बमोजिम हदैसम्म कारवाही गर्नु भनी आदेश दिन पनि माग गरिएको छ ।

नदीहरु प्रदुषण हुँदै गएका कारण प्रत्येक ब्यक्तिलाई स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलगायतका हकको हनन् भएको रिट निवेदनमा उल्लेख गरिएको थियो । सर्वोच्चले सो रिट निवेदनलाई प्राथमिकतामा राखी सुनुवाई गर्न पनि आदेश दिएको सर्वोच्चबाट थाहा भएको छ ।