पुँजीबजार सुधार गर्न २५ बुँदे माग पेस



काठमाडौं, (नेस)
शेयर लगानीकर्ता दबाब समूहले सोमबार नेपाल धितोपत्र बोर्डमा २५ बुँदे माग बुझाएको छ । आगामी वर्षको बजेटले पुँजीबजारलाई राहत दिने खालको कार्यक्रम नसमेटेको भन्दै दबाब समूहले २५ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ । उक्त माग सरकारसमक्ष बोर्डमार्फत पु¥याउने उद्देश्यले पेस गरिएको दबाब समूहका महासचिव नयन बास्तोलाको भनाइ छ ।

आफूहरूको मागलाई अत्यन्त सकारात्मकरूपमा लिएर तत्काल परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले व्यक्त गरेको समेत महासचिव बास्तोलाले बताउनुभयो । शेयर बजार खुल्नुअगावै राहतका कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत अध्यक्ष ढुंगानाले गरेको बास्तोलाले जानकारी गराउनुभयो ।

पुँजीबजार विकास र विस्तारका लागि बोर्डले पहल गरिरहेको भए पनि बजारका लागि तत्काल आवश्यक कार्यक्रमहरू कार्यान्वयन हुनुपर्ने माग दबाब समूहले अघिसारेको हो ।

२५ बुँदे मागपत्रमा लकडाउनका बीच दुई दिन खोलिएको शेयर कारोबार रद्द गर्न, ब्रोकर र नेप्सेको कमिसन घटाउन, शेयर धितो कर्जाको सीमा ८० प्रतिशत पु¥याउन र मार्जिन कलको सामना गर्ने अवस्थामा रहेका लगानीकर्तालाई असोज मसान्तसम्म मार्जिन कल नगर्ने व्यवस्था गर्न भनिएको छ ।

कोरोना संकट र लगातारको लकडाउनका कारणले असार मसान्तभित्र तिर्न नसकेको बक्यौता साँवा ब्याज तिर्न असोज मसान्तसम्मको म्याद कायम गर्नसमेत दबाब समूहको माग छ ।

त्यस्तै, कोरोना संकट र लकडाउनका कारणले पुँजी बजारका लगानीकर्तालाई पनि गम्भीर खालको क्षति हुन गएकाले सरकारले तत्काल २ अर्ब रुपियाँकोे पुनर्कर्जा कोष व्यवस्था गर्न र वाणिज्य बैंकका सहायक कम्पनीलाई तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने माग पनि दबाब समूहकोे छ ।

प्रतिक्रिया दिनुहोस्