नेपाल बारद्वारा राहत कोष सिफारिस समिति गठन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा आइतबार कानून व्यवसायी विपद राहात कोष व्यवस्थापन तथा सिफारिस समिति गठन गरेको छ । नेपाल बारका महासचिव लीलामणि पौडलले दिएको जानकारी अनुसार सो समितिमा ६ सदस्यीय रहेका छन् ।

समितिका सदस्यहरुमा वरिष्ठ अधिवक्ताद्धय सुशीलकुमार पन्त, उषा मल्ल पाठक तथा अधिवक्ताहरु उद्धवकुमार केसी, राजकिशोर यादव, सूर्यबहादुर गुरुङ र सदस्य सचिवमा अधिवक्ता रुद्र प्रसाद पोखरेल रहनु भएको छ ।

नेपाल बारले कोरोना भाइरसको संक्रमण बढेपछि कानून व्यवसायीहरुलाई अप्ठेरो पर्दा आवश्यक सहयोग गर्ने उद्देश्यले कानून व्यवसायी राहत कोष स्थापना गरेको छ । सो कोषमा सहयोग गर्ने क्रम जारी रहेको छ ।

हालसम्म लाखौ रुपियाँ संकलन भइसकेको छ । वरिष्ठ अधिवक्ता सुशील पन्तले १५ लाख रुपियाँ सहयोग गर्नुभएको छ । यसैगरी अधिवक्ता उद्धवकुमार केसीले ५ लाख रुपियाँ प्रदान गर्नुभएको छ । गठित समितिले आपतमा परेका कानून व्यवसायीहरुको पहिचान गरी सहयोग गर्ने कार्य गर्दछ ।