पनौतीकी संक्रमित महिलाका परिवारमा कोरोना नभएको पुष्टि

परिवारका ६ सदस्य घरकै क्वारेन्टाईनमा


मोतीराम तिमल्सिना,काभ्रे । 

पनौतीमा संक्रमण देखिएकी ३९ बर्षिया महिलाका श्रीमान सहित परिवारका ६ जना सदस्यहरुको कोरोना संक्रमण नभएको पिसिआर परिक्षणबाट पुष्टी भएको छ । पनौती नगरपालिका वडा नम्वर ८ मल्पि घर भएकी महिला सामान्य परिवारकी हुन् । उनका श्रीमान, सासु, ससुरा, दुई छोरी र एक छोराको पिसिआर परिक्षणमा कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

उनिहरु सबै जनाको शनिबार विहान स्वाव संकलन गरी घरमै क्वारेन्टाईनमा राखिएको थियो । महिलालाई भक्तपुर स्थित केएमसी अस्पताल दुवाकोटमा भर्ना गरिएको छ । महिलासँगै जिल्लाको रोशी गाउँपालिकाका ३ र पाँचखाल नगरपालिकाको एक जनामा कोरोना संक्रमण देखिएको थियो । सबै जनाको उपचार भक्तपुरमा भईरहेको छ ।

संक्रमित महिला घरबाट कतै गएकी छैनन । उनका श्रीमान निर्माण कार्य गर्ने ठेकेदार हुन् । उनको सम्पर्क धेरै ब्यक्तिसँग भए पनि लक डाउन पछि उनि कतै गएका छैनन । पेट दुखेर बनेपा अस्पताल हुँदै धुलिखेल अस्पताल पुगेकी महिलाको पित्तथैलीमा समस्या देखिएकाले अप्रेसन गर्नु पर्ने बताए पछि उनको पिसिआर परिक्षणका लागि स्वाब लिएर घर फकाईएको थियो । उनलाई कताबाट संक्रमण स¥यो ? खोजतलास शुरु गरिएको डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

‘एक्कासी उनलाई पेट दुख्यो, तत्काल बनेपामा रहेको बनेपा अस्पतालमा पु¥याएँ, त्यहाँ अल्ट्रासाउण्ड गर्दा पित्तथैलीमा पत्थरी देखियो, अप्रेसन तत्काल गर्नु पर्ने भएकाले धुलिखेल अस्पताल रिफर गरेपछि हामी घरेलु औषधी खाएर बसेको अवस्थामा पुनः पेट दुखेपछि अस्पतालले पिसिआर परिक्षण गरेर मात्रै अप्रेसन गर्ने बतायो’–महिलाका श्रीमानले भन्नुभयो–‘अस्पतालले पिसिआर रिपोर्ट आए पछि अप्रेसन गर्ने भनेर जेष्ठ २१ गते घर फर्काएको थियो । उनलाई कहाँबाट कसरी संक्रमण देखियो थाहा भएन ।’ महिलालाई जण्डिस छ । महिलाका सासु र ससुरा, श्रीमान, दुई छोरी र एक छोरा सँगै बस्छन् ।