एसियाबाटै खड्का एक्लो निर्णायक


काठमाडौं, (नेस)

कोरोना भाइरस (कोभिड–१९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन् ।

खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महादेशबाटै मनोनित हुने खड्का एक मात्र निर्णायक भएको बताइएको छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन् ।

यूएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तŒवावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समयानुसार आज राति १२ बजेदेखि शुरु हुँदै छ । चारदिने प्रतियोगिता ‘जुम’ प्रविधिमार्फत प्रत्यक्ष हुनेछ ।

प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अति प्रभावित विभिन्न राष्ट्रका अनाथालयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्षसमेत रहेका खड्काले जनाएका छन् ।

सहभागी खेलाडीले दर्ता शुल्कबापत सय अमेरिकी डलर बुझाउनुपर्नेछ । निर्णायकले पारिश्रमिकबापत पाउने रकम पनि अनाथालयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिनेछ । निर्णायकले प्रतिदिन सय अमेरिकी डलरका दरले पारिश्रमिक पाउनेछन् ।