साइकल यात्रामा म्यानमारमा फसेका कोरियाग्राफर फर्किए


हेटौंडा, (नेस)

गत फागुन ७ गते हेटौंडाबाट विश्व साइकलयात्रामा निस्किएका हेटौंडाका युवा कोरियोग्राफर विक्रम भारती स्वदेश फर्केका छन्।

कोरोना भाइरस संक्रमणबाट हुने कोभिड–१९ को जोखिमका कारण भएको लकडाउनले विदेशमा फसेकालाई स्वदेश फर्कन दिएसँगै भारती शुक्रबार म्यानमारबाट फर्केका नेपालीको टोलीसँगै स्वदेश फर्केका हुन्। नेपाल आउने टोलीमा भारतीसहित म्यानमारमा रहेका नेपाली विद्यार्थी तथा व्यवसायी थिए।

उनीहरूलाई म्यानमारको सैनिक विमानबाट नेपाल ल्याइएको हो। भारतीको टोली ४ हजार १ सय किलोमिटर दूरी पूरा गरी म्यानमार पुगेको थियो। म्यानमार पुगेपछि कोरोना महामारीका कारण उनी म्यानमारको रंगुनमा फसेका थिए।

भारतीले कोरोना महामारी सकिएपछि आफ्नो साइकलयात्रा जारी राख्ने बताए। झन्डै १० महिनामा १३ राष्ट्र घुमिसक्ने लक्ष्यसहित उनको टोलीले यात्रा शुरु गरेको थियो।

उनीहरूले पहिलो चरणमा हेटौंडाबाट भारत हुँदै, बंगलादेश, म्यानमार, लाओस, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, टिमोर लेस्टे, जापान र कोरिया यात्रा गर्ने लक्ष्य बनाएका थिए। पछिल्लो समयमा काम नभएर अलपत्र परेका उनीसहित २६ जना नेपाली शुक्रबार नेपाल फर्केका छन्।