चौतर्फी दबाबपछि कोरोना बीमा पुनः शुरू

0
Shares

 परिवर्तन देवकोटा, काठमाडौं ।

बजेटको कार्यक्रमलाई नै धज्जी उडाउँदै कोरोना बीमालेख बिक्री स्थगन गर्ने बीमा कम्पनीहरूको निर्णय १२ घन्टा पनि नबित्दै पुनः सुचारू भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मुख्य प्राथमिकतामा राखेको कोरोना बीमा दायित्व बोझ हुने बहाना देखाउँदै बीमा कम्पनीहरूले स्थगन गरेका थिए ।

शुक्रबारदेखि स्थगन गरेको घोषणा गरेको भए पनि कम्पनीहरूले शुक्रबार मध्यान्हबाट कोरोना बीमालेख बिक्री पुनः सुचारू गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरामण पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

कोरोना बीमा स्थगन गर्ने निर्णय भएपछि बीमा कम्पनीका सञ्चालक तथा बीमा समितिका पदाधिकारीको टाउको दुखेको थियो । महामारीका बीच ल्याइएको बीमालेखमा जनताको रूची अत्याधिक रहेपछि बीमा कम्पनीहरूले धोका दिएको र अब विश्वास गुम्ने भन्ने चिन्ता रहेको बीमा कम्पनीका एक कर्मचारीले नेपाल समाचारपत्रलाई सुनाए ।

सञ्चालकहरूको ‘निद हराम’ हुने गरी भएको त्यो निर्णयपछि बीमा कम्पनीहरू र बीमा समितिमा निरन्तर छलफल भएको थियो । सो छलफलमा पुनर्बीमा कम्पनी र बीमा समितिका बोर्ड सदस्यहरू पनि सहभागी थिए ।

छलफल रातिसहित बिहान पनि भएको थियो । समितिका कार्यकारी निर्देशक पौडेलले आफूहरू नियमित छलफलमा रहेको जानकारी दिनुभयो ।

छलफलका क्रममा दायित्व बहन गर्न बीमा कम्पनीहरू तयार भए, त्यस्तै पुनर्बीमा कम्पनी र सरकारले पनि केही दायित्व बोक्न तयार भएपछि कोरोना बीमालेख बिक्री कार्यक्रम पुनः सुचारू गरेका हौं, नेपाल समाचारपत्रसँग कार्याकारी निर्देशक पौडेलले भन्नुभयो ।

उहाँले भन्नुभयो–‘३ लाख मानिसको बीमा गर्दा ३० लाख रकम छुने थियो, त्यसकारण बीमा कम्पनीहरू डराएका थिए । अहिले पुनर्बीमा कम्पनीले राम्रो निर्णय गरेको छ, केही व्ययभार पुनर्बीमा कम्पनीले पनि बोक्ने भएपछि, सरकारले पनि केही व्ययभार लिने सहमति भयो ।’

उहाँले सरकारका प्रतिनिधिले बीमा समितिलाई कोरोना बीमा पुनः सुचारू गराउन मौखिक निर्देशन दिएको बताउनुभयो । छलफलपछि बीमा समितिले उत्साहका साथ कोरोना बीमा गराउन कम्पनीहरूलाई निर्देशन दिएको छ ।

उहाँका अनुसार शुक्रबारदेखि गरिएको बीमा यस वर्षको अन्तिम अर्थात चैत मसान्तसम्म लागू हुने बताइएको छ । यद्यपि, यसअघि गरिएको बीमा भने बीमा गरिएको मितिले एक वर्षसम्म नै कायम भएको छ । यता, नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले सहमतिपछि कोराना बीम अगाडि बढाइएको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामीले पुनः कोरोना बीमा सुचारू गरेका छौं, यसमा सबैको भूमिका सकारात्मक रह्यो ।’ उहाँले दायित्व पुनर्बीमा कम्पनी र सरकारले पनि केही हदसम्म बोक्ने भएपछि आफूहरू बीमाका लागि तयार रहेको सुनाउनुभयो ।