नेपाल समाचारपत्र, काठमाडौं
अरब सागरमा केही दिनदेखि डिप डिप्रेसन कायमै रहेको जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डिप डिप्रेसनसँगै अरब सागरको दक्षिणपूर्वी भागमा तीन दिनअघि निसर्ग नामको शक्तिशाली चक्रवात विकसित भएको थियो । त्यसको एक दिनपछि समुद्रबाट जमिनमा प्रवेश गरेसँग चक्रवात कमजोर बनेको महाशाखाले जनाएको छ ।
चक्रवात समुद्री सतहमा शक्तिशाली भए पनि जमिनमा प्रवेश गरेसँग यो विस्तारै कमजोर हुँदै जाने मौसमविद्हरूको भनाइ रहेको छ । हाल मुलुकमा यसको अप्रत्यक्षरूपमा प्रभाव परिरहेको मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।
‘बिहीबारसम्म अरब सागरको शक्तिशाली चक्रवात कमजोर भइसकेको अबस्था छ तर पनि यसको अप्रत्यक्ष प्रभाव हाम्रो मुलुकको मौसममा देखिएको छ ।’ –उहाँले भन्नुभयो ।
यसको प्रभाव सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका साथै बाग्मती प्रदेशका केही भागमा देखिएको छ । जहाँ पूर्ण बदलीदेखि सामान्य बदली हुने सम्भावना छ । शनिबार रातिसम्म यसको प्रभाव देखिने मौसमविद् प्रधानांगले बताउनुभयो ।
हाल अरब सागरमा रहेको डिप डिप्रेसनका साथै पश्चिम वायु र स्थानीय वायुका कारण मुलुकका विभिन्न भागमा मौसम बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली भू–भागमा हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ । यस अवधिमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।











प्रतिक्रिया