युवा समाजसेवी शाहीद्वारा दुईलाख बढीको स्वास्थ्य सामाग्री सहयोग

0
Shares

विमल विष्ट,डोटी ।

डोटीको केआइसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीयबासी तथा नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जीतेन्द्र शाहीको पहलमा डोटीका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नर्वेमा बसोवास गर्दै आएका नेपालीहरुको आर्थिक सहयोगमा रु २ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

जिल्लाको केआईसिंह गाउँपालिका, शिखर नगरपालिकाको वडा नं १ र २, सायल गाउँपालिकाको वडा नं २ को क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामग्री प्रदान गरिएका स्थानीय तहमा पछिल्लो समय कम्तीमापनि तीनहजार नागरिक भारतबाट भित्रिएका छन् ।

भारतबाट दैनिक हजारौंको संख्यामा प्रवासीहरु स्वदेश फर्किन थालेपछि स्थानीय सरकारलाई व्यवस्थापन गर्न निकै कठिन भएको अवस्थामा शाहीले पठाउनु भएको स्वास्थ्य सामग्रीले निकै सहज भएको सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आउने नागरिकको सङ्ख्या दिनहुँ बढेको बढेइछ, स्वास्थ्य सामग्री नहुँदा आपत परेको थियो, समाजसेबी शाहीजीले सहयोग गरेपछि सहज भएको छ ।”

समाजसेबी समेत रहनु भएका शाहीले नेपाल समस्या परेको समयमा पटक पटक सहयोग गर्दै आउनु भएको छ । उहाँले गरेको स्वास्थ्य सामग्री सहयोगले यहाँका नागरिक निकै खुसि भएको दिपायल पिपल्लाका स्थानीयबासी धनबहादुर शाहीले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई सर्जिकल मास्क, नुहाउने र लुगा धुने साबुन लगायतका सामाग्री हस्तान्तरण गरिएको बताइएको छ । शाहीले पठाउनु भएका स्वास्थ्य सामग्री जिल्लाको केआईसिंह गाँउपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएको र शिखर नगरपालिका र सायल गाउँपालिकाको क्वारेण्टाइनमा बसेकाहरुलाई पनि केही दिन भित्रै वितरण गरिने सामाजिक अभियन्ता दीपेन्द्र सिहँले जानकारी दिनुभयो ।

यस्तो संकटका बेलामा पनि सबैको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय सरकारलाई व्यवस्थापन गर्न कठिन भएको खबर पाएपछि शाहीले स्वस्फुर्त रुपमा सहयोग गरेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएका नागरिकलाई स्वास्थ्य लगायत अन्य कुराको व्यवस्थापन गर्न स्थानीय सरकारलाई समस्या भएको थियो, शाहीले स्वास्थ्य सामग्री पठाएपछि राहत मिलेको छ ।”

भारतबाट आएका नागरिकको स्वास्थ्य लगायतका अन्य व्यवस्थापनमा समस्या भएपछि नर्वे सहित अमेरीका बस्दै आएका नागरिकहरुले पनि स्वास्थ्य सामग्री तथा खाद्यान्नका लागि आर्थिक सहयोग दिदै आएका छन् । अमेरीकामा बस्दै आउनु भएका डोटीको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयबासी तथा काग्रेस नेता आनन्द विष्टको पहलमा पनि केहि समय पहिले खाद्यान्नका लागि आर्थिक सहयोग डोटी आएको थियो । जिल्लामा कोरोनाको कहर सुरु भएसँगै बिदेशमा रहेका यहाँका नागरिकले राहत स्वरुपमा बिभिन्न समग्रीहरु पठाउन थालेका छन् ।