लकडाउनको मोडालिटी फेर्दै आर्थिक गतिविधि बढाउन माग

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

ललितपुर उद्योग वाणिज्य संघले मुलुकमा जारी लकडाउनको मोडालिटी फेरेर आर्थिक गतिविधिलाई चलायमान बनाउन आग्रह गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले आवश्यक व्यवस्था गरी आर्थिक गतिविधि सुचारु गर्न माग गरेको हो ।

संघका अध्यक्ष कृष्णलाल महर्जनद्वारा जारी विज्ञप्तिअनुसार महिनौंसम्मको लकडाउनका कारण पुँजीको तरलतामा गम्भीर असर परिरहेकाले निजी क्षेत्रलाई आफ्ना कर्मचारी तथा मजदुरको पारिश्रमिकसहित बैंकको ब्याज र किस्ता, घर तथा गोदामको भाडा तिर्न नै समस्या परिरहेको छ ।

विज्ञप्तिमा लामो लकडाउनले मुलुकको आर्थिक परिसूचकमा नकारात्मक असर पर्नजाने तथा देश र जनतालाई अपूरणीय क्षति पुग्ने अवस्था सिर्जना भएको उल्लेख छ । यसैबीचमा आन्तरिक राजस्व विभागले कर तिर्न ताकेता गर्दै जारी गरेको सूचनाले झनै मर्माहात बनाएको संघको भनाइ छ ।