मनकारी चन्द्रकान्त : शिवांश बचाउ अभियानमा १ लाख सहयोग

0
Shares

न्युज अफ नेपाल,बैतडी ।

रेडियो निङ्गलाशैनीका बजार व्यवस्थापक चन्द्रकान्त अवस्थीले शिवांश बचाउ अभियानमा १ लाख नगद सहयोग गर्नुभएको छ । भारतको चेन्नईमा कलेजो प्रत्यारोपण गरिएका शिवांशको उपचारमा सहयोग पुर्याउनका लागि आफूले सहयोग गरेको अवस्थीले बताउनुभयो ।

समस्यामा परेका बेला सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो ‘१४ दिनमै कलेजो प्रत्यारोपण भएको बच्चाले पुनजीर्वन पाएको छ ।

यसमा हाम्रो सहयोगले उसको जीवन बच्दैछ त्यसैमा खुसी भएका छौं । अरु सहयोगी मनहरुलाई पनि शिवांश बचाउ अभियानमा सहयोग गर्न आग्रह गर्दछु ।’

रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीका छोरा शिवांशको १४ दिनमै कलेजोले काम गर्न छोडेपछि भारतको चेन्नइमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

महेश अवस्थीले आफ्नै कलेजो दिएर शिवांशको कलेजो प्रत्यारोपण गरिएको हो । शिवांशको उपचारमा करीब १ करोड जति खर्च भईसकेको उहाँका बुवा महेश अवस्थीले बताउनुभएको छ ।

शिवांशको अहिले पनि भारतको चेन्नईमा उपचार भईरहेको छ । शिवांश बचाउ अभियानमा अहिले पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । आफ्नै कमाईले मात्रै शिवांशको उपचार सम्भव नभएपछि सबै सहयोगी हातहरुलाई सहयोगका लागि आग्रह गरिएको हो ।