लकडाउनमा उपाध्यायका एकैसाथ चार कृति


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ का एकैसाथ चार कृति प्रकाशित भएका छन् । स्रष्टा ‘प्रेक्षित’ को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् ।

‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा २ सय ११ ओटा हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित हाइकु ‘प्रेक्षित’ ले विसंं २०४९ देखि २०७५ को अवधिमा रचना गरेका करिब एक हजार २ सय हाइकुमध्येबाट उत्कृष्ट २ सय ११ ओटा छनोट गरी सङ्ग्रहमा समावेश गरेको बताए ।

‘प्रेक्षित’ को ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० ओटा कविता समावेश गरिएका छन् । यसै गरी समालोचना कृति ‘काव्य परिशीलन’ मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ ओटा समालोचना समावेश छन् ।

उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ । दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’ मा समेटिएका छन् ।

यसै गरी ‘प्रेक्षित’को चौथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवम् समीक्षाको सङ्ग्रह हो । भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे ‘प्रेक्षित’ ले विभिन्न समयमा लेखेका २१ ओटा भूमिका एवम् समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् ।

‘प्रेक्षितका यी कृति गत वर्षको अन्त्यतिर प्रकाशित भएका भए पनि हालै सार्वजनिक गरिएको हो । गत चैत्र २८ गते विमोचन गर्ने कार्यक्रम रहेको भए तापनि कोरोना भाइरसका कारण लकडाउन भएपछि ती कृति विमोचन हुन सकेका थिएनन् । स्रष्टा ‘प्रेक्षित’का कृति नेपाली साहित्यमा रुचि राख्नेका लागि उपयोगी साबित हुने देखिन्छ । सबै कृति मकालु प्रकाशन गृहद्वारा प्रकाशित भएका हुन् ।