विमानस्थल स्तरोन्नतिको काम सम्पन्न

0
Shares

विमल विष्ट,डोटी ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्र लगात अन्य स्तरोन्नतिको काम सम्पन्न भइ जहाजको पखाईमा रहेको छ । विमानस्थलमा कालोपत्रेको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाल लगायतको काम सहित विमानस्थलमा रेखाङ्कन गर्ने कार्यपनि सम्पन्न भएको छ ।

करिब रु साढे ५ करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतीको काम सप्नाग्याल्भा तथा भेबी कन्ट्रकसनले दुइ वर्ष पहिले जिम्मा लिएको थियो । दिपायल विमानस्थलको निर्माणको सम्पूर्ण काम सकिएपछ जहाँज सञ्चालन गर्न पहलगर्नु पर्ने स्थानीयबासीको माग रहेको छ ।

लामो समयदेखि यात्रु अभाबको कारण देखाउदै बन्द अवस्थामा रहेको सो विमानस्थल डोटीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य तथा संघीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नती तथा कालोपत्रको काम गरिएको हो । विमानस्थलको सम्पूर्ण काम सम्पन्न भइ जहाँजको पखाइमा रहेपछि स्थानीयबासीपनि निकै खुसि भएका छन् ।

गएको वर्षको असार महिनामा सक्ने लक्ष्य सहित बिसं २०७४ सालमा कालोपत्र सहितको निर्माण कार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्र लगाएतको काम अहिले आएर सकिएको हो । विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावन मार्गको पर्खाल, तार जाली लगाउने कामपनि सकिएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा भेबी कन्ट्रकसनका साईड प्रमुख राजेन्द्र विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विमान स्थलको सबै काम सकेका छौँ, केही दिनमा विमानस्थल हस्तान्तरणको काम गर्ने तयारीमा छौँ ।” विमानस्थलहरुमा रनवे रेखाङ्कन लगायतका कामहरु पनि सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीय स्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले ढिलैभएपनि अहिले आएर सम्पूर्ण काम सकेको र अव जहाँज आउने कार्यमात्रै बाँकी रहेको दिपायल सिलगढी नगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थलको सम्पूर्ण काम सकिएको छ, डोटी लगायत समग्र पहाडी जिल्लाको चाडो विकास गर्ने हो भने अव छिट्टै जहाँज चलाउनु जरुरी छ ।” निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरीक उड्यन प्राधिकरणले समयमै म्याद नथप्दा उक्त विमानस्थल निर्माण कार्य ढिला हुँदै आएको थियो ।

बिगतमा लक्ष्य अनुसार काम नहुँदा कालोपत्रको काम नै सुरु नभएर यो विमानस्थलको काम अलपत्र परेको थियो । अहिले बल्ल आएर विमानस्थलको सम्पूर्ण काम सकिएपछि यहाँका स्थानीयबासी विमानस्थल सुचारु हुनेमा निकै खुसि भएको दिपायल पिपल्लाका डम्बर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमान स्थलको काम सम्पन्न भएको छ, अव सबै राजनैतिकदलको पहलमा नियमित रुपमा जहाँज चलाउनु पर्छ ।” दिपायल विमानस्थल संङ्गै कालोपत्र निर्माण सुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमान स्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परिक्षण उडान समेत भइ सकेको छ । उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको कामपनि सम्पन्न भैसकेको छ ।

सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आसामा बैतडीका स्थानीयबासी पनि खुसि भएकाछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमान स्थल कालोपत्रको काम सुरु गरिएको थियो ।

डोटीको दिपायल र बैतडीको पाटन सहितका दुईवटा विमानस्थलहरु निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रहरुमा पर्यटक भित्रयाउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग अथाह पर्यटन क्षेत्रहरु छन् तिनको विकास र प्रचार प्रसार गर्ने हो भने सुदूरपश्चिम प्रदेशका दिपायल र बैतडीको पाटनमा नियमित जहाज चलानुपर्छ ।” दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँका प्रमुख पर्यटकिय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडीकेदार,बैद्यनाथ धाम लगायतका धार्मिक क्षेत्रमा पर्यटकहरु भित्रयाउन सकिने डोटीका पर्यटन व्यवसायि दीपकबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकोका ठाउँहरु हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके, पर्यटक मात्रै भित्रयाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो र आम्दानी हुने छ ।”