डा. केसीले जगन्नाथ मन्दिरको प्रसाद ग्रहण गर्दै तोडे दुर्ई दिने अनशन

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

डा गोविन्द केसीले दार्चुला सदरमुकाम खलंगामा अवस्थित जगन्नाथ मन्दिरको प्रसाद ग्रहण गर्दै पूर्व घोषित दुई दिने सत्याग्रह अन्त्य गर्नु भएको छ । उहाँले सत्याग्रह तोड्दै जारी गर्नुभएको विज्ञप्तीमा सकारको ध्यान मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा केन्द्रीत हुनुपर्ने कुरा औल्याउनुभयएको छ ।

डा. केसीले दार्चुलाबाट जारी गरेको विज्ञप्तीमा भन्नुभएको छ—मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी विगत एक दशकदेखि संघर्ष गरिरहेका छौं । त्यसै क्रममा देशको दुरदराज लगायत सबै ठाउँका मानिसले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ र त्यहाँका जेहेन्दार विद्यार्थीले निःशुल्क वा न्युन शुल्कमा डाक्टर वा स्वास्थ्यकर्मी बन्न पाउनुपर्छ ।

त्यसका लागि देशका विभिन्न ठाउँमा सरकारी मेडिकल कलेजहरु खोलिनुपर्छ भनेर हामीले बारम्बार माग राखेका छौं । त्यसै सन्दर्भमा यस अगाडि हामीले जुम्ला, इलाम र डडेल्धुरामा सत्याग्रह गरेका हौं । हामीसित बारम्बार त्यस खाले सम्झौता गरे पनि सरकारले अहिलेसम्म तिनलाई कार्यान्वयन गरेको छैन ।

यसैबीच पछिल्लो समय भारतले नेपालको पश्चिमी सीमा मिचेर सडक बनाएपछि देशमा सीमा विवादको चर्चा उत्कर्षमा पुग्यो । देशको मिचिएको भुमि फिर्ता हुनुपर्छ र सार्वभौमसत्ताको रक्षा हुनुपर्छ । तर त्यसो भनिरहँदा राज्यले कहिल्यै पनि सीमा क्षेत्रका मानिसहरुको पीडा बुझेको छैन । न सडक, न शिक्षा, न स्वास्थ्य न रोेजगारी । यही अवस्थाबारे समाजको ध्यान तान्नका लागि यसपटक मैले सत्याग्रहका लागि दार्चुला रोजेको हुँ ।

हामीले स्वास्थ्य र मेडिकल शिक्षा सुधार अभियानको शुरुआती चरणदेखि नै सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुमा व्याप्त राजनीतिकरण र दलीय भागवण्डाको विरोध गर्दै आएका छौ) । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), विश्वविद्यालयहरु र नेपाल मेडिकल काउन्सिलमा दलीय भागवण्डा अन्त्य गर्न सरकारले ती माग पूरा गर्न पटक पटक सम्झौता पनि गरेको छ ।

पछिल्ला केही कार्यकाल आइओएममा वरिष्ठताका आधारमा डिन तथा अन्य पदाधिकारीहरु नियुक्ति भएपछि उल्लेखनिय सुधार भएको हामीले देखेकै छौं । त्यसैले हामीसित विगतमा भएका सम्झौता बमोजिम अब पनि वरिष्ठताका आधारमा डिन तथा अन्य पदाधिकारीहरु नियुक्त गर्न र पराशर कोइराला प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडी बढाउन सरकारको ध्यानाकर्षण गराउँछौं ।

साथै दार्चुला सदरमुकाम खलंगामा अवस्थित जगन्नाथ मन्दिरको प्रसाद ग्रहण गर्दै पूर्व घोषित दुई दिने सत्याग्रह अन्त्य गरेका छौ । यस पटक विभिन्न किसिमबाट मलाई सहयोग गर्नुहुने सबैलाई मेरो हृदयदेखि धन्यवाद ।