भारतबाट आएका लेलेका तीन जना सेल्फ क्वारेन्टाईनमा

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

भारतको बिहारबाट आएका ललितपुरको लेलेका स्थानीय तीन जनालाई सेल्फ क्वारेन्टाईनमा राखिएको छ । हप्तादिन अघि नेपाल आइपुगेका उनीहरुको स्वास्थ्य परिक्षण गरी सेल्फ क्वारेन्टाईनमा राखिएको हो । गोदावरी नगरपालिका–५ लेलेका वडा अध्यक्ष मिलन सिलवालले पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा पठाईएको बताउनुभयो ।

‘हामीले उहाँहरुलाई बोर्डरदेखिनै उद्धार गरी ल्याएर सिधै वडाबाट स्थापित क्वारेन्टाईनमा राखी कोरोना परिक्षण गरियो । रिपोर्ट नेगेटिभ आएपछि हामीले हाम्रै निगरानीमा सेल्फ क्वारेन्टाईनमा घर पठाईएको हो ।’, वडा अध्यक्ष सिलवालले बताउनुभयो ।

बैदेशिक रोजगारीको रुपमा भारत पुगेका उनीहरु विश्वमा बढ्दै गईरहेको कोरोना संक्रमणका कारणले भारतमा लकडाउन थप लम्बिएपछि नेपाल फिरेका हुन् । उनीहरुलाई वडा कार्यालयको पहलमा सवारीको समेत व्यवस्था मिलाई बोर्डरबाट सिधै वडाको क्वारेन्टाईनमा ल्याईएको हो ।

उनीहरुलाई लेले प्राथमिक स्वास्थ्य चौकीमा वडाले स्थापना गरेको क्वारेन्टाईनमा केहि दिनदेखि राखिएको थियो । सोमबार बेलुका उनीहरुमा कोरोना नभएको रिपोर्ट आएपछि उनीहरु वडाको क्वारेन्टाईनबाट विदा भई आफ्नो घरमै क्वारेन्टाईनमा रहने गरी पठाईएको वडा अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।

वडा अध्यक्ष सिलवालले बैदेशिक रोजगारी, पर्यटन, शिक्षा, व्यापार लगायत उद्धेश्यले विदेशमा रहेका तथा लकडाउनले अप्ठेरो परिस्थितिमा पु¥याएका वडाबासीलाई उद्धार गर्नु आफ्नो जिम्मेवारी र दायित्व भएको बताउनुभयो ।

‘कोरोना संक्रमणका कारण बनेको विशेष परिस्थितिमा वडाबासीका लागि हरकदम सेवामा रहनु म आफू जिम्मेवार ठान्छु । त्यसकारण विदेशमा रहनुभएका वडाबासीको अबस्थाको बारेमा बुज्दैछु । अप्ठेरोमा परेकालाई सेवा गर्नु मेरो दायित्व पनि हो ।’,उहाँले भन्नुभयो । वडाले विदेशमा रहेका आफ्ना वडाबासीको अबस्थाको बारेमा विस्तृत विवरण लिईरहेको जानकारी दिनुभयो ।