काभ्रेको उग्रचण्डी भगवति मन्दिरको शिलामा पसिना,अनिष्टको संकेत

28
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्वर ४ स्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिरमा रहेको भगवतीको मुर्तिको शिलाबाट पसिना आउन थालेको छ । विहान ७ बजे मान्छे रोएको जस्तो आवाज सुनिए लगत्तै पसिना आउन थालेको भए पनि पुजारीहरुले ९ बजे मात्रै थाहा पाएको पुजारीहरुका अध्यक्ष सिद्धीबहादुर कर्माचार्यले बताउनु भयो ।

भगवतीको मूर्तिको शिलाबाट रगत र पसिना आएको एक सय ९४ वर्षपछि २०७१ कार्तिक १५ गते पुनः पसिना आएको थियो । त्यसको पाँच वर्ष पछि २०७७ जेष्ठ २१ गते बुधबार विहान देखि मन्दिरको शिलाबाट पसिना बग्न थालेको हो । मन्दिर व्यवस्थापन समिति तथा मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यका अनुसार भगवतीको मन्दिरको शिलाबाट पसिना बग्न थाले पछि स्थानीयहरुको चासो र त्रास बढेको छ ।

‘भगवतीको शिलामा पसिना बगेपछि अनिष्ट हुन्छ भन्ने संकेत हो’– पुजारी सिद्धीबहादुर कर्माचार्यले भन्नुभयो–‘२०७१ साल कार्तिक १५ गते शनिबार आएको पसिना पछि २०७२ बैशाख १२ गते भुकम्प गयो । क्षमापूजा गरिएकाले नाला क्षेत्रमा ठुलो जनधनको क्षति हुन पाएन ।’

२०७१ सालमा भगवतीलाई पसिना आएपछि त्रसित बनेको मन्दिर व्यवस्थापन समिति तथा पुजारीहरूले पुराना दस्तावेज खोजेर क्षमापूजा गरेका थिए । १८७७ साल तथा पुस ४ गते शनिबारको दिन भगवतीको मूर्तिमाथिबाट रगत खसेर भगवतीको ढाडमा परेको थियो ।

सोही वर्ष माघ ३० गते पनि शरीरको बीच भागबाट रगत आएको थियो । यसरी भगवतीको शरीरबाट रगत बगेपछि तत्कालीन अवस्थामा हैजा लागेर धेरै नालावासीको मृत्यु भएको स्थानीयवासी बताउँछन् । हैजा लागेर धेरैको मृत्यु भएपछि जप गरी भगवतीको जात्रा गरिएको थियो ।

भगवतीलाई पसिना आएपछि हुन सक्ने अनिष्टबाट जोगाउनका लागि राज्यस्तरबाट नै ठूलो खालको पूजाआजा गर्नुपर्ने इतिहास तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरले बताउनु भयो । भगवतीको मूर्तिको शिलाबाट पसिना आएपछि त्रसित बनेका स्थानीयवासी र मन्दिर व्यवस्थापन समितिले आउन सक्ने सम्भावित समस्याबाट बच्नका लागि गर्न सकिने विभिन्न उपायका बारेमा छलफल गर्ने भएको छ ।

भगवतीलाई पसिना आएपछि सर्वसाधारण मन्दिरमा दर्शन गर्न आउन थालेको कर्माचार्यले बताउनु भयो । पलाञ्चोक भगवती, शोभा भगवतीलगायतका चार भगवतीमध्ये नाला भगवती पनि एक महत्त्वपूर्ण भगवतीको रूपमा मानिन्छ ।

वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भगवती मन्दिरको सरसफाई, संरक्षण तथा ब्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिएको बताउनु भयो । पसिना आए पछि अनिष्ट हुन सक्ने विश्वासलाई क्षमापूजा तथा अन्य विधीबाट हल गर्ने विषयमा छलफल गर्ने उहाँले बताउनु भयो ।