क्वारेन्टाईनमा बसेका एक युवा पौडी खेल्ने क्रममा बेपत्ता

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको क्वरेन्टीनमा बसेका एक युवा आज दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । मालिका–६, दरबाङ्को छ्यारछ्यारेमा रहेको क्वरेन्टीनमा बसेका युवा नजिकै म्याग्दीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

धवलागिरी गाउँपालिका–७, ताकमको धारापानी घर भएका १९ वर्षीय (पुरुष) युवा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले जानकारी दिनुभयो । अहिले बेपत्ता युवाको खोजतलास जारीरहेको उहाँले बताउनुभयो । पौडी खेल्ने क्रममा युवा भागेको समेत हुन सक्ने अनुमान गरिएको छ ।

उनी छ्याछ्यारेको म्याग्दी खोलामाथि रहेको झोलुङ्ग पुल नजिकैबाट खोलामा पौडी खेल्नका लागि हाम फालेको बताइएको छ । ती युवा हालै मात्र भारतबाट फर्किएका थिए । उनलाई म्याग्दी सदरमुकाम बेनीमा रहेको क्वरेन्टीनमा एक हप्ता राखेर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मालिका गाउँपालिकाको क्वरेन्टीनमा लगिएको थियो ।