विवादबीच खुल्यो हेटौंडा बजार

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघको आह्वानअनुसार हेटौंडामा बुधबार विहान पसल व्यबसाय खोल्ने कि बन्द गर्ने भन्ने विषयमा प्रहरी र उद्योगी व्यबसायीबीच विवादले चर्को रुप लियो । सरकारले व्यबसायीको व्यबसाय धरापमा पारेको र कुनै विकल्प नदिएको भन्दै संघको नेतृत्वमा बजार खुला गर्दै हिँडेका व्यबसायीलाई प्रहरीले अवरोध गरेको थियो ।

कोरोना संक्रमणको जोखिमबाट बच्न संघीय सरकारले पछिल्लो पटक जेठसम्म लकडाउनको निर्णय गरेपछि संघले आवश्यक सुरक्षा साबधानी अपनाएर पसल खुला गर्ने निर्णय गरेको थियो । मकवानपुर उद्योग वाणिज्य संघले लकडाउनको अवधिमा सुरक्षित तरिकाले व्यबसायीले पसल व्यबसाय संचालन गर्न पाउनुपर्ने माग राखेको छ ।

विहान उद्योग वाणिज्य संघका नेताहरु पसल व्यबसाय खुलाउँदै हिँडेका थिए । प्रहरीले लकडाउनको पूर्णपालना गराउन आदेश भएको भन्दै पसल व्यबसाय बन्द गराउन थालेपछि विवाद भएको थियो ।करिब एक घण्टाको विवादपछि प्रहरीले विहान ९ बजेसम्म पसल व्यबसाय संचालन गर्न दिएको नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले जानकारी दिनुभयो ।

‘लामो लकडाउनका कारण व्यबसायी भोकले मर्ने चिन्ता बढेको छ,’ उहाँले भन्नुभयो । स्थानीय प्रशासनले व्यबसायीको मर्कालाई बुझेर सुरक्षा साबधानीका साथ व्यबसाय संचालन गर्न दिनुपर्ने उहाँको माग छ । उहाँले बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानको म्याद गुज्रनेलगायत समस्याले मानसिक तनाव उत्पन्न भएको बताउनुभयो ।

केन्द्रीय सदस्य न्यौपानेले विश्व नै कोरोनाको महामारीबाट आक्रान्त भएको बेला हाम्रो देश पनि यसबाट अछुतो रहन नसकेको भन्दै यो लकडाउनपश्चात् पनि कति समय लकडाउन थपिने यकिन नभएको गुनासो गर्नुभयो । ‘त्यसैले रोगले हैन, भोकले मर्ने स्थिति देखिएको छ,’ उहाँले भन्नुभयो ।

‘अन्त्यहीन लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको छ,’ उहाँले उपभोक्तालाई सचेत रहँदै सुरक्षा अपनाएर किनमेलमा संलग्न हुन अनुरोध गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले भन्नुभयो–लकडाउन लम्बिँदै जाँदा विपन्नवर्ग मात्र होइन, कुनै दिन राहत बाँड्नेहरु समेत राहत माग्ने अबस्थामा पुग्नेछन् ।

 उहाँको प्रश्न छ–दैनिक ज्यालादारी काम गरेर हातमुख जोर्नेहरुको हालत के भएको होला ? उनीहरुको दैनिकी कसरी चलिरहेको होला ? कोरोना भाइरससँगै लकडाउनले आर्थिकरुपमा सिर्जना गरेका जटिल समस्याबारे सरकारले ध्यान नदिएको उहाँको आरोप छ ।

लकडाउनका कारण व्यबसायी मारमा परेको र सरकारले जेठ २५ सम्म कर दाखिला गर्न भनेको भन्दै उहाँले यसबाट व्यबसायी मारमा पर्ने बताउनुभयो । उहाँले अब व्यबसाय सञ्चालनमा कुनै पनि अवरोध नआउने विश्वास व्यक्त गर्नुभयो । ‘व्यबसायीको पीडा थप जटिल बन्दै गएको छ भने आम सर्वसाधारण नागरिकले भोगिरहेको पीडा व्यबसायीले पनि भोगिरहेका छन्’ संघ बरिष्ठ उपाध्यक्ष माधब न्यौपानेले भन्नुभयो ।