म्याग्दीमा थप ३ जनामा डेंगु संक्रमण,संक्रमितको सङ्ख्या १३ पुग्यो

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीमा कोरोना भाइरसको संक्रमणसँगै डेंगु रोगका संक्रमितहरुको सङ्ख्या पनि बढ्दै जान थालेको छ । पछिल्लो दुई दिनमा मात्रै तीनजना डेंगुका संक्रमित थपिएको बेनी अस्पतालले जनाएको छ ।

सोमबार (आज) पर्वतको जलजला–४, को ७८ वर्षीया महिलामा डेंगुको संक्रमण पुष्टि भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो । आइतबार मात्रै मंगला गाउँपालिका–५, अर्मनको ४९ वर्षीया महिला र बेनी नगरपालिका–६, अर्थुङ्गेका ५४ वर्षीया महिलामा डेंगु संक्रमण पुुष्टि भएको थियो ।

अर्थुङ्गेका ५४ वर्षीया महिलामा डेंगुसँगै हेमोरोजिक (आन्तरिक रक्तस्राव)को समस्या देखिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । योसँगै म्याग्दीमा डेंगु संक्रमितको सङ्ख्या १३ पुगेको छ भने ९ जना उपचारपछि घर फर्किएका छन् । शनिबार पनि म्याग्दीमा एक बालिकालाई डेंगु पोजिटिभ देखिएको थियो ।

अहिले बालिकासँगै बेनी अस्पतालमा तीन जनाको स्वास्थ्यकर्मीको निगरानीमा उपचार भैरहेको छ भने उनीहरुको अवस्था सामान्य रहेको छ । गएको माघ महिनादेखि यता म्याग्दीमा डेंगुको संक्रमण देखिन थालेको हो । एडिज एजिप्टाई नामको पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगुरोग सार्ने गर्दछ ।

यसबाट बच्नका लागि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने र सुत्ने बेला झुलको प्रयोग गर्ने जस्ता उपायहरु अपनाउनुपर्ने बेनी अस्पतालका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले बताउनुभयो । उहाँले गर्मी र वर्षात्को समयमा लामखुट्टे बढ्ने भएकाले विगतको वर्षभन्दा यसपटक डेंगुको संक्रमण बढी हुनेहुँदा आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।