प्रदेशका एक हजार पत्रकारको कोरोना बीमा

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

बागमती प्रदेशका एक हजार पत्रकारको कोरोना बीमा गरिने भएको छ । प्रदेश सरकारले नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुको संयोजनमा कोरोना बीमाको प्रक्रिया शुरु गरेको हो ।

प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटाले सबै १३ जिल्ला शाखाहरुको सिफारिस र प्रदेश पत्रकार महासंघले संकलन गरेको उक्त नामावलीका आधारमा पत्रकारको बीमा गरिने बताउनुभयो । यसका लागि प्रेस रजिष्टार कार्यालयले सोमबार प्रदेश पत्रकार महासंघलाई पत्र पठाएको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसको जोखिममा समुदायबीच पुगेर समाचार संकलन गर्दै आएका पत्रकारको सुरक्षाका लागि बीमा गर्न लागिएको उहाँले बताउनुभयो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा बीमा गर्न लागिएको हो ।

यसबाट छापा, टिभी, रेडियो र अनलाइनमा कार्यरत् जिल्लाका पत्रकारहरु लाभान्वित हुनेछन् । ‘फ्रन्टलाइनमा बसेर काम गर्दै आएका पत्रकारहरुलाई उच्च प्राथमिकता दिइनेछ,’ उहाँले भन्नुभयो ।

जेठ १३ गते प्रस्तुत गरिएको प्रदेशको नीति तथा कार्यक्रम प्रसारण गर्ने प्रदेश सरकारमा दर्ता भएका रेडियो, टिभी र अनलाइनलाई केही आर्थिक सहयोग उपलब्ध गराइने सापकोटाले जानकारी दिनुभयो ।

गुणस्तरीय र प्रतिस्पर्धी सञ्चार क्षेत्रको विकासका लागि डिजिटल प्रविधिको पहुँच वृद्धि गर्न पत्रकारिता तालिम आयोजनाको क्रममा रहेको सापकोटाले बताउनुभयो । चालु आर्थिक वर्षभित्र प्रदेशका १३ जिल्लामध्ये ६ जिल्लाका १२ पत्रकारलाई ल्यापटप, क्यामेरासहित किट ब्याग उपलब्ध गराएर पत्रकारिता क्षेत्रमा आकर्षित गर्ने योजना रहेको उहाँको भनाइ छ ।