हेटौंडाकी गर्भवतीले जितिन् कोरोना

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१, चौकीटोलकी २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएकी छन् । पाँच महिनाकी गर्भवती उनको स्वास्थ्य अबस्था सामान्य छ ।

पछिल्लो दुई दिन लगातार गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको छ । जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई हेटौंडाबाट सोही दिन भरतपुर अस्पताल पठाइएको थियो ।

उनलाई डिस्चार्ज हुँदा अस्पतालसम्बद्ध अधिकारी र स्वास्थ्यकर्मीले बिदाइ गरेका थिए । उपचारमा रहेकी उनी कोरोना संक्रमणको पुष्टि भएको तेस्रो दिनमा संक्रमणमुक्त भएको हुनाले अस्पतालले आइतबार विहान डिस्चार्ज गरेको हो ।

उनलाई कोरोना पुष्टि भएपछि चौकीटोल क्षेत्रमा गरिएको सिल अन्यको पीसीआर परीक्षणको नतिजाका आधारमा मात्र खुला गरिने वडा अध्यक्ष सबिन न्यौपानेले बताउनुभयो । घर फर्किएपछि गर्भवतीले आफूलाई कोरोना संक्रमण कहाँबाट र कसरी भयो भन्नेबारे आश्चर्यमा परेको बताइन् । उनको शरीरमा इम्युनिटी पावर राम्रो भएकोले छिटो निको भएको हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

उनको परिवार करिब १ वर्षदेखि चितवनको भरतपुरमा रहँदै आएको थियो । कम्प्युटरको काममा केही दख्खल भएका पति त्यहीं काम गर्ने भएपछि उनी पनि सँगै चितवन गएकी थिइन् । त्यहाँ उनीहरु डेरामा बस्थे । लकडाउन लम्बिएपछि दम्पत्तिले आफ्नै घर गएर बस्ने निर्णय गरे । र, स्थानीय जनप्रतिनिधिको अनुमति मागे । तर, यो विषम परिवेशमा वडा अध्यक्ष सबिन न्यौपानेले अनुमति दिनुभएन र केही समय त्यहीं ९चितवन० मै लकडाउनको पूर्णपालना गर्दै सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।

तर, दम्पत्तिले मानेन । जेठ ९ गते राति उनीहरु खाद्यान्न बोकेको एक गाडीमा हेटौंडा झरे । यो खबर पाएपछि वडा अध्यक्ष न्यौपानेले दम्पत्तिलाई तत्काल हेटौंडा अस्पतालमा ज्वरो जाँचपछि हेटौंडा–४ स्थित श्रमिक माविमा रहेको आइसोलेसन वार्डमा पठाउनुभएको थियो ।
त्यहाँ एक रात रहेपछि उनीहरु ‘होम क्वारेन्टाइन’ मा बस्ने भन्दै आफ्नो घर आएका थिए ।

आइसोलेसनमा रहँदा स्वाब संकलन भयो । महिलाको स्वाब परीक्षणको नतिजा पोजेटिभ देखिएको थियो । करिब ३ वर्षअघि उनको विवाह भएको र उनी पहिलो सन्तानको प्रतीक्षामा छिन् । उनी र उनका पति करिब १ वर्षदेखि चितवनमा रोजगारी गर्दै आएका छन् । ती महिला हेटौंडामा कोरोना संक्रमण देखिएकी दोस्रो व्यक्ति हुन् ।

यसअघि हेटौंडा–४ की करिब ५४ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ । एक पटकको पीसीआर नेगेटिभ आएको र अब अर्को पटकको परीक्षण पनि नेगेटिभ आए उनलाई छिटै डिस्चार्ज गरिने भएको छ ।