भारतीय नागरिक नेपाल प्रवेश गर्न लागेपछि सर्लाहीमा हवाई फायर


न्युज अफ नेपाल, सर्लाही ।

कोरोना भाइरसका कारण जारी लकडाउनका बीच भारतीय नागरिक नेपाल प्रवेश गर्न लागेपछि सर्लाहीमा हवाई फायर भएको छ।

आइतबार बिहान साढे ६ बजेको समयमा सर्लाहीको विष्णु गाउँपालिका–२ पकडीमा भारतीय नागरिकबाट ड्युटीमा रहेको सशस्त्र प्रहरीको बीओपी टोलीमाथि आक्रमणको प्रयास भएपछि हवाई फायर गरिएको हो।

भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयास गर्न थालेपछि हवा फायर समेत गर्नु परेको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ।

अन्तर्राष्‍ट्रिय सीमा बन्द र लकडाउनका बीच एकजना भारतीय नागरिक केही सामान लिएर जर्बजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोकेको थियो।

त्यसपछि ती युवकले नजिकैको गाउँबाट ४०–५० जनाको समूहमा आएर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी प्रवक्ता डीआइजी प्रविणकुमार श्रेष्ठले बताए।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सीमामा खटिएको सशस्त्र प्रहरीको टोली माथि यसअघि पनि पटक–पटक अवरोध हुने र आक्रमणको प्रयास भएको थियो।