सास फेर्न गाह्राे भो आमा !

मिडिया पावरको पछिल्लो सशक्त उदाहरण


कपिल काफ्ले

कोरोना भाइरसले गाँजेपछि सास फेर्न गाह्रो हुन्छ । सास फेर्न नसकेकै कारण व्यक्तिको मृत्यु हुन्छ । डाक्टरहरू यसै भन्छन् । तर, ‘सास फेर्न गाह्रो भो आमा !’ भनेर यहाँ शीर्षकमा लेखिएको वाक्य भने अमेरिकाबाट साभार गरिएको हो । किनभने त्यहाँका सबै राज्यमा यही वाक्य लेखिएको ब्यानर बोकेर श्वेत–अश्वेत सबै नागरिक चार दिनदेखि सडकमा उत्रिएका छन् ।

जर्ज फ्लोइड नामका ४६ वर्षे अश्वेतले मिनियापुलिस स्टेट प्रहरी अधिकारीको घुँडामुनि थिचिएको घाँटीबाट गत सोमबार निकालेको मर्मस्पर्शी आवाज हो यो । प्रहरीले खुला सडकमा लामो समयसम्म घाँटी थिचेका फ्लोइडले प्रहरीको कठोर सजायकै कारण प्राण त्यागेको समाचार सञ्चारमाध्यमहरूले सार्वजनिक गरिरहेका छन् ।

अहिले जर्ज फ्लोइडले न्याय पाउनुपर्छ, निर्दयतापूर्वक घाँटी थिच्ने प्रहरी र उनलाई सघाउने तीन प्रहरी अधिकारीले सजाय पाउनुपर्छ भन्दै रंगभेद विरोधी दंगा शुरू भएको छ । यत्र–तत्र आगजनी गरिएको छ । चार दिन लामो विरोध र झडपपछि डेरेक चाउमिन नामका प्रहरी अधिकारी जसले घुँडाले बलपूर्वक फ्लोइडलाई सडकमा ङ्याकिरहेको देखिन्छ, उनलाई हत्याको अभियोगमा कारबाही चलाउने सरकारले निर्णय लियो, त्यसपछि भने क्रमशः हिंसात्मक विरोध केही घटेको छ ।

सात समुद्रपारिको यो सन्दर्भ नेपाली पाठकका लागि किन आवश्यक थियो र यति महत्व दिएको, कोरोना भाइरसले हरेक दिन करिब २ सय नेपालीको घाँटीमा डेरेकले जस्तै ङ्याकिरहेका बेला, शारीरिक, मानसिक र आर्थिकरूपमा आफैंलाई सास फेर्न गाह्रो भइरहेका बेला रंगभेदको सन्दर्भ किन आवश्यक भयो ? कुनै कोणबाट यसरी पनि प्रश्न गर्न सकिएला । तर, पछिल्लो अमेरिकी घटनाबाट हामीले सिक्नुपर्ने केही सन्दर्भ पनि छन्, त्यसलाई बाहिर ल्याउनैपर्छ । त्यसमाथि लेखकले यस सन्दर्भलाई सञ्चार शक्तिको उदाहरणका रूपमा पनि हेरेको छ ।

करिब १३ प्रतिशत अश्वेत, ६० प्रतिशतभन्दा बढी श्वेत र अन्य रंगका नागरिक भएको अमेरिकामा रंगभेदको आगो जसरी दन्किरहेको छ, नेपालमा जात–भातको सन्दर्भ त्यति कठोर छैन । गत साता रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय सम्बन्धलाई लिएर चार युवकको हत्या भएको सन्दर्भ गम्भीर छ, तर पनि हामीमा अमेरिकी स्तरको कठोरता छैन भन्नेचाहिँ मान्नै पर्छ ।

यस विषयमा संघीय संसद्को दुवै सदनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जवाफ पनि दिनुभएको छ । बादलले पीडित परिवारलाई न्याय दिने र दोषीलाई कानुनी कारबाही गरेर छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएको र तीमध्ये १२ जना पक्राउ परिसकेको अवस्थामा घटनामा जातीय विभेद कति हो र अन्य पक्षको हात कति छ, विस्तारमा सार्वजनिक हुने नै छ ।

किनभने, जातीय विभेदका कारण घटना भएको नभई गाउँ–गाउँबीचको क्षेत्रीय विभेद दुःखद घटनाका कारण हो भन्ने पक्षहरू पनि देखिएका छन् । उनीहरूसँग तथाकथित दलित र गैरदलित भनिनेहरूबीच पहिलादेखि नै विवाहसम्बन्ध गाँसिएका र सम्मानपूर्ण व्यवहार हुँदै आएका उदाहरण पनि छन् ।

त्यसैले अमेरिकामा जस्तो अश्वेतलाई केही भन्यो कि रंगभेद नै हुने, महिलासँग बोल्यो कि लैंगिक हिंसाको आरोप लाग्ने, अपरिचित बालकको मुखमा हेरेर हाँस्यो कि ‘पेडोफिल’ को दोष आइलाग्ने हदसम्मको छोइछिटोबाट भने नेपाली माथि उठेका छौं । हो, विगतमा हामीले दलित र गैरदलितबीच धेरै छोइछिटोका अमानवीय कथाका पात्र बनेर अभिनय ग¥यौं, तर अब त्यसको मात्रा उल्लेख्यरूपमै घटेको छ ।

पूजापाठ र विवाह सम्बन्धका विषयमा केही संकीर्णता अझै बाँकी छ, हजारौं वर्षदेखिको संस्कारका अगाडि ‘कु’ वा ‘सु’ के उपसर्ग लगाउने भनेर निर्णय लिनलाई नै हामीलाई सयौं वर्ष लागिरहेको छ । तर पनि रंगभेदका सन्दर्भमा अमेरिकाले हासिल गरेको परिवर्तनका तुलनामा हामी नेपालीले जातीय विभेदको अन्त्यका क्षेत्रमा गरेको प्रगति निकै माथि देखिन्छ ।

अश्वेत फ्लोइडको घटनाबाट केही दृष्टान्त भने हामीले लिनैपर्छ । सामाजिक मिडियामा श्वेत–अश्वेत सबैले जोडतोडका साथ यस विषयलाई उठाएका कारण यो देशव्यापी आन्दोलनको विषय बन्यो । मिनियापुलिसका मेयर ज्याकोब फ्रेले मात्र होइन राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दोषी प्रहरी अधिकारीविरुद्ध कारबाही हुने प्रतिवद्धता जनाउन र डेरेक चाउभिनलाई हत्याको अभियागमा कारबाही चलाउन बाध्य हुनुप¥यो ।

अहिले सामाजिक सञ्जालमा के श्वेत के अश्वेत सबै एकजुट भएर रंगभेदी व्यवहारविरुद्ध लागेका छन् । उनीहरूको वालमा ‘गोराहरू चुप लाग्नु मात्र पनि कालाविरुद्ध अपराध गर्नु हो’ भन्ने वाक्यहरू लेखिएका ब्यानर बोक्दै हिँडेका गोराका तस्वीरहरू पनि यत्र–तत्र देखिन्छ । काला र गोरा नागरिकको जीवनको अर्थ समान हो भन्दै सबै वर्णका नागरिक प्रहरी प्रशासन र पद्धतिको विरोधमा उत्रिए ।

श्वेत–अश्वेतबीच विभेदका स्वरहरू सुनिए पनि त्यसलाई महत्व नदिएर मूलधारका सञ्चार माध्यमले बुद्धि पु¥याए । तर, मूलधारकै सञ्चारमाध्यमले देशभरि विरोधको आगो दन्किरहँदा ‘सास फेर्न सकिनँ आमा’ बोलको बल्छी वाक्य उछालेर समुदायलाई अझ तताउने जे काम गरे त्यसको भने आलोचना गर्नुपर्छ । देशै जल्न लागेका बेलामा पनि फ्लोइडको क्रन्दनलाई नै महत्व दिनु सापेक्षतालाई नबुझ्नु नै हो ।

यस सन्दर्भमा राजनीतिक विश्लेषक भ्यान जोनको टिप्पणी हाम्रा लागि पनि उपयोगी देखिन्छ । उनी भन्छन्– ‘सानैदेखि जुन प्रकारले व्यक्ति हुर्काइन्छ, ठूलो भएपछि पनि उसले त्यसैलाई प्राथमिकता दिन्छ, उसका लागि कानुनी आधार र प्रावधानहरू गौण हुन पुग्छन् । आज श्वेत–अश्वेतबीच कायम रहेको घृणा र असहिष्णु व्यवहार पनि मान्छेको परवरिसकै परिणाम हो ।’

हाम्रो सन्दर्भमा पनि बाल्यकालदेखि जातजातिका सन्दर्भमा सिकाएको पाठ र समाजमा देखिने व्यवहार सिकाइको स्रोत बनिरहेको छ । त्यसका अतिरिक्त मनुस्मृति र महाभारतजस्ता धर्मग्रन्थलाई समीक्षात्मक दृष्टिले हेर्ने उचाइ हामीले हासिल गर्न सकेका छैनौं ।

सूतपुत्र भन्दै कर्णलाई धनु छुन नदिने विभेद र वेदमन्त्र उच्चारण गरेको आरोपमा उसको भाइ शोनलाई मुखमा सुन पगालेर हाल्ने पाशविक यातनायुक्त ग्रन्थलाई आदर्शताको स्रोत मान्ने संस्कार रहेसम्म पूर्ण परिवर्तन सम्भव छैन । महाभारत यो हदसम्म ठीक छ, तर यहाँनिर ठीक छैन भन्ने विश्लेषण आवश्यक छ ।

यहाँ, महाभारत एक उदाहरण मात्र हो, अरू धर्मग्रन्थ र कानुनका पुस्तकहरूलाई पनि यसरी नै विश्लेषण गर्नु आवश्यक छ । त्यसो भएमा मात्र ‘सास फेर्न सकिनँ आमा’ भनेर हृदयविदार पुकार सुन्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । रंगभेद र जाति भेदको मुहानमै प्रहार गर्न नसकेका कारण विश्व आज पनि पुरानै संकीर्णताको शिकार बनिरहेको छ ।