भकिम्लीका दक्ष दुईजना प्रसुतिकर्मीलाई क्षमता अभिवृद्धिको तालिम

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

भकिम्ली स्वास्थ्यचौकीमा कार्यरत दक्ष प्रसुतिकर्मीलाई अनसाइट कोचिङका लागि क्षमता अभिवृद्धिसम्बन्धी तालिम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा रहेको स्वास्थ्यचौकीका दुईजना दक्ष प्रसुतिकर्मीलाई क्षमता अभिवृद्धिको तालिम प्रदान गरिएको हो ।  गर्भवती तथा सुत्केरी अवस्थामा आमा र बच्चाको ज्यान जोखिमबाट बचाउनका लागि गरिने उपचारका विधिहरुमा सहजीकरण गर्ने उद्देश्यले दक्ष प्रसुतिकर्मीलाई लक्षित गरेर तालिम आयोजना गरिएको जनाइएको छ ।

बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित तीन दिनसम्म चलेको तालिममा बेनी अस्पतालको अस्पताल नर्सिङ निरीक्षक तथा क्लिनीकल मेन्टर मनदेवी गौतमले सहजीकरण गरेकी थिइन् । तालिममा गर्भवती अवस्थामा बेहोस भएका महिलाहरुलाई औषधीद्वारा सामान्य अवस्थामा ल्याउने, नर्मल डेलिभरी, डेलिभरी हुँदा आवश्यक उपकरणलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो ।

बिहीबार सम्पन्न तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले अहिले विश्व नै कोरोनाको महामारीको अवस्थामा रहेकाले सुरक्षित भएर सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेकी छिन् । उनले नगरपालिकाले स्वास्थ्यकर्मीका लागि रेनकोट स्टाइलको पिपिई खरिदको तयारी गरेको हुँदा आवश्यक सहयोग गरिने बताइन् ।

बेनपाका स्वास्थ्य संयोजक लिला गौतमले स्वास्थ्यचौकीमार्फत सर्वसाधारणहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छिन् । उनले अहिले कोरोनाका कारण उच्च जोखिम भएकाले आवश्यक सुरक्षा सतर्कता अपनाएर काम गर्नुपर्ने बताइन् ।

कार्यक्रम स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष पूर्णबहादुर घर्तीको अध्यक्षता र भकिम्ली स्वास्थ्यचौकीका सिनियर अनमी तारा बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो । गतवर्ष अनसाइट कोचिङसम्बन्धी तालिम ज्यामरुककोट स्वास्थ्यचौकीमा गरिएको थियो । कार्यक्रममा स्वास्थ्यचौकीमा उपलब्ध सेवासुविधाको बारेमा पनि छलफल गरिएको थियो ।