कीर्तिपुरका हरेक वडामा क्वारेन्टाईन

0
Shares

सुनील महर्जन, काठमाडौं ।

विदेशमा रहेका नेपालीहरु फर्काउने तयारी सरकारले गरिरहेको बेला कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाईन बनाउने भएको छ ।नगरपालिकाको कार्यपालिकाको बैठकले वडा नं १ देखि १० सम्म प्रत्येक वडामा क्वारेन्टाईन बनाउने निर्णय गरेको नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिनुभयो । ‘यही जेठ २० गतेसम्म सबै वडाहरुमा कम्तीमा एक वटा क्वारेन्टाईन तयार भइसक्ने छ । त्यसका लागि आवश्यक प्रबन्ध गरिरहेका छौं ।’ मेयर महर्जनले भन्नुभयो ।

सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको बताउँदै मेयर महर्जनले भन्नुभयो ‘विदेश गएका यहाँका मानिसहरु आउँदा कोरोना भाईरस संक्रमित हुने सक्ने आशंका गर्दै टोलटोलमा खैलाबैला मच्चिने सक्ने अवस्था आउने छ । त्यसलाई ध्यानमा राखेर क्वारेन्टाईन बनाउने निर्णय गरेका हौं ।’

बाहिरबाट आएका कीर्तिपुरबासीलाई सिधै घरमा नपठाई आइसोलेसन अवधिभरको लागि रहनसहनको व्यवस्थापन गर्ने, क्वारेन्टाईनमा बस्नेलाई स्वास्थ्य उपचार सम्बन्धी आवश्यक सहयोग गर्न क्वारेन्टाईन सञ्चालन गर्न लागिएको मेयर महर्जनले बताउनुभयो । नगरपालिकाका अनुसार वडामा तयार हुने क्वारेन्टाईनमा २० जनासम्म अटाउने छ ।

क्वारेन्टाईन बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंसंग समन्वय गरिरहेको छ । प्रशासन, प्रहरी, वडा अध्यक्ष, स्वास्थ्य, शिक्षा शाखाका कर्मचारी सम्मिलित क्वारेन्टाईन व्यवस्थापन समिति पनि गठन गरिएको छ । क्वारेन्टाईनका लागि आवश्यक भौतिक पूर्वाधार तयारी गर्ने र सुरक्षाकर्मी, चिकित्सकहरु राख्ने बारे छलफल गरिरहेको उपप्रमुख सरस्वती खड्काले बताउनुभयो ।

नगरपालिकाले क्वारेन्टाईन निर्माण सम्बन्धी आफ्नै मापदण्ड तयार गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गर्न निकै कठिन हुने उल्लेख गर्दै उपप्रमुख खड्काले भन्नुभयो ‘क्वारेन्टाईनको लागि हुनुपर्ने आवश्यक सुविधालाई ध्यानमा राखेर मापदण्ड तयार गरेका छौं ।’उपप्रमुख खड्काका अनुसार बस्ती भन्दा कम्तीमा ५० मिटर दूरी कायम गर्ने छ । त्यसैगरी ६ देखि १० जनाको लागि १ वटा व्यवस्थापन गर्ने छ ।

प्रत्येक व्यक्तिको लागि अलगअलग ओड्ने र ओछ्याउने, हाउजिङ फिड, व्यक्तिगत सामग्री, डसविन, बालटिन र जगको व्यवस्था गर्ने छ ।क्वारेन्टाईनमा विधुत पानीको सहज उपलब्ध गराउने, टेलिफोन तथा ईन्टरनेटको व्यवस्था गर्ने, एक व्यक्तिदेखि अर्का व्यक्तिको दूरी ५ देखि ६ फुट कायम गर्ने,नियमित सरसफाई गर्ने, खाना, स्वास्थ्य सुविधा व्यवस्था गर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यकता अनुसार आरडीटी र पीसीआर परीक्षण गरी रिपोर्टमा नेगेटिभ देखिएमा घर पठाउने नगरपालिकाले जनाएको छ ।
५ सय जना सम्म बस्ने मिल्ने क्वारेन्टाईन निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । त्यसैगरी नगरपालिकाले नगरमा पीसिआर सेन्टर स्थापना गर्न तयारी गरिरहेको छ ।