नागरिकहरु क्वारेन्टाइनबाट किन भाग्छन् ?



कोरोना भाइरसको महामारीमा बाहिरी मुलुकबाट नेपाल भित्रिएका नागरिक क्वारेन्टाइनमा बस्न मानेनन्, किन ? क्वारेन्टाइनबाट भाग्नुको कारण के ? क्वारेन्टाइन व्यवस्थित नभएकोले क्वारेन्टाइनमा बस्न नागरिकहरुले मानिरहेका छैनन् । क्वारेन्टाइनमा बस्दा झन् बिरामी पर्ने हो कि भन्ने डरले पनि बस्न मानिरहेका छैनन् भन्ने किसिमको जनगुनासो आइरहेको छ ।
यसकारण सर्वप्रथम कमी–कमजोरी पत्ता लगाउन जरुरी छ । क्वारेन्टाइन व्यवस्थित र क्वारेन्टाइनमा दिन बिताउन सेवा–सुविधाहरु हुन पनि अति आवश्यक छ । क्वारेन्टाइनमा बस्नेहरुका लागि खानपिन पनि इम्युनिटी पावर बढाउने पोषणयुक्त हुनुपर्छ ।

लकडाउन भनेको छ, कडाइ गर्ने मात्र भनिएको छ । लकडाउनले भोकमरी लाग्यो भने जिम्मेवार को ? लकडाउनका कारण थुप्रै कठिनाइ र जोखिम आउने स्थिति देखिएको छ । यसको निकास र समाधान के ? हाम्रो मुलुकमा भिजन, योजना र दीर्घकालीन सोच भएका प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद र नेताहरू नै नभएकोले अब नागरिकले पिडा झेल्नुपर्ने अवस्था देखिन्छ ।

लकडाउनले मुलुक टाट पल्टने हो कि ? सोचौं है । विश्लेषण गर्ने हो भने लकडाउनपश्चात् पनि कोरोना भाइरसका संक्रमितहरु झन् देखिन थाले । लकडाउनले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकेन । भारतबाट चोरबाटो भएर नेपाल प्रवेश गर्नेहरु नै कोरोना संक्रमित भएको देखिएको अवस्था छ । अमेरिका, स्पेन, इटाली र फ्रान्स आदि मुलुकमा उच्च रक्तचाप, मुटुरोगी, मधुमेह रोगी, आत्मबल कमजोर भएका र डिप्रेसनका बिरामीमा कोरोनाले बढी आक्रमण गर्ने हुँदा उनीहरुको मृत्यु भएको तथ्यांकले देखाएको छ । यसकारण लकडाउन मात्र समस्याको समाधान होइन ।

अब मुलुकलाई सधैँभरि लकडाउन गरेर सम्भव छैन । सकभर नागरिक आफैंले सावधानी अपनाउनुपर्ने हो । कोरोना भाइरसको औषधि ननिस्कुनजेल मास्क, सेनिटाइजरको प्रयोग र दूरी कायम गरेर आवतजावत गर्न दिनु नै सुरक्षित उपाय हो । लकडाउनलाई बिस्तारै खुकुलो पार्नेतर्फ ध्यान दिन जरुरी छ ।
– राकेशकुमार शर्मा
हेटौंडा–२, मकवानपुर

राइनो ताल संरक्षणको पर्खाइमा
भरतपुर उपमहानगरपालिका वडा नं. १२ स्थित रामवेल सामुदायिक वन उपभोक्ता समूहको वनको बीचमा राइनो ताल छ । जुन तालको प्रचारप्रसार नहुनु दुःखको कुरा हो । उक्त तालको भरतपुर उपमहानगरपालिकाले प्रचारप्रसार गरेको भए उक्त ताल स्वदेशी तथा विदेशीको नजरमा आस्थाको केन्द्रविन्दु बन्थ्यो ।

तर, हाल उक्त तालले आफ्नो अस्तित्व खोजिरहेको छ । उक्त तालको साँध–सिमाना कति छ, पर्खाल लगाएर नघेर्नु, तालको बीचका सुकेका रुखहरु नहटाउनु, तालको पूरै भाग जलकुम्भीले ढाक्नु, घाँसैघाँस उम्रनुले ताल हो भनेर जो–कोहीले विश्वास नै गर्दैनन् ।

त्यसैले उक्त ताल यहाँका जनता तथा सामुदायिक वन उपभोक्ता समूहसँग असाध्य रिसाएको छ । जिङ्गिंग बूढो हुँदै अब मलाई कसले उपचार गरिदेला र म तन्नेरीरुपमा निरोगी भई सबैलाई आफ्नो चिनारी चिनाउन पाऊँला भनी प्रतीक्षामा बसेको पनि कैयौँ वर्ष भइसक्यो । तर दुःखको कुरा, उक्त बूढो राइनो तालका बारेमा कसैको आँखा पुग्न सकेको छैन । देखेर पनि नदेखेको जस्तो गर्नु, त्योभन्दा दुःखको कुरा अरु के हुन सक्छ र ?

भरतपुरमा विभिन्न संघसंस्था, एनजीओ÷आईएनजीओ लगायत धेरै सरकारी संघसंस्थाहरु छन् । त्यसमाथि, रामवेल सामुदायिक वन उपभोक्ता समूहले त विशेष गरी संरक्षण गर्नु दायित्व नै थियो । तर त्यस्तो गर्न नसक्नु उसको कमजोरी हो जस्तो लाग्छ ।

किनकि, उचित संरक्षण गरेको भए उक्त ताल अवलोकन गर्न आउनेहरुको घुइँचो लाग्थ्यो र बर्सेनि लाखौँको आम्दानी गर्न सकिन्थ्यो । अझ, विदेशी पर्यटकहरुलाई निम्त्याउन सके त लाखौँ डलर नेपाल भित्र्याउन सकिन्थ्यो । हाल उक्त ताल व्यवस्थित नभए पनि पिकनिक मनाउनेहरु र सुटिङ गर्न आउनेहरुको त्यहाँ घुइँचो लाग्ने गर्छ ।

धेरै वर्षअगाडि तीन–चारजना मानिस डुंगाबाट खस्दा मृत्यु भएको भनी मलाई स्थानीयले बताएका थिए । म वर्षको एकचोटि काठमाडौँबाट चितवन घुम्न आउँछु । घुम्दै जाँदा यस्तो महत्वपूर्ण ठाउँ ओझेलमा परेको देख्दा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने गरेको छु ।

आजभन्दा धेरै वर्षअगाडि बीसहजारी ताल घुम्न गएको थिएँ । त्यसबारे चार–पाँचवटा पत्रिकामा लेख पनि छापिएका थिए । हाल बीसहजारी तालको मुहार फेरिएको थाहा पाएँ, सारै खुशी लाग्यो । बीसहजारी तालजस्तै राइनो तालका बारेमा सम्बन्धित निकायले बेलैमा सोचेर काम गर्न नितान्त आवश्यक भैसकेको छ । सम्बन्धित निकायले यसबारे छिट्टै पहल गरोस् ।

– सुदीप तिमल्सिना, भरतपुर, चितवन ।

सम्बन्ध विच्छेद नै समाधान हो त ?
नेपाली समाजमा सम्बन्ध विच्छेदलाई खासै राम्रो मानिँदैन । तर पनि हाम्रो समाजमा यो असाध्यै मौलाएको छ । अझ भन्नुपर्दा अहिलेको ऐन कानुनअनुसार पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने भन्ने व्यवस्था छ । यस्ता घटनाले साँच्चै हाम्रो समाज नै विसंगतितिर धकेलिएको छ ।

व्यक्ति, परिवार राम्रो भयो भने समाज पनि राम्रो हुन्छ । एउटा व्यक्तिले पूरा समाज नै खलबलाउँछ । यदि गाउँको कुनै परिवारको मुख्य सदस्यले द्वन्द्व फैलाउँछ, श्रीमती छोराछोरीलाई दिनरात कुट्छ भने सामाजिक व्यवस्था पनि खलबलिन पुग्छ ।
अर्कोतिर बालबालिकालाई नकारात्मक असर परेको हुन्छ । किनकि सम्बन्ध विच्छेदपछि बच्चा कि आमा वा बाबासँंग बस्छ । उसले आमा वा बाबाको माया तथा साथबाट वञ्चित हुनुपर्छ । उनीहरूको भविष्य अन्धकारतिर जान्छ ।

पछिल्लो समयमा बालबालिका गलत बाटोतर्फ मोडिएका छन् । कतिपय बालबालिका हिंसात्मक गतिविधिका सिकार भएका छन् । बालबालिका बेचबिखन, बलात्कार, घरेलुु हिंसा, सडके बालबालिका बन्ने र अवैध धन्दा गर्ने भएका छन् ।

यसले गर्दा भोलिका कर्णधार आज कुलतमा लागेको अवस्था छ । हामीले सुन्दै आएका र देख्दै आएका छौं– आमा–बाबाको काखबाट वञ्चित केटाकेटी नकारात्मक पाटोतर्फ गइरहेका हुन्छन् । अब यस्ता घटना नदोहोरिऊन् भन्ने सन्देश गाउँ, समाजमा पु¥याउनुपर्दछ । त्यस्तै, राज्यले पनि यससम्बन्धी कडा नियम बनाउनुपर्छ ।

हरेक आमा–बाबाले आफ्नो पारिवारिक वातावरण सुन्दर र राम्रो बनाई बालबालिकाको भविष्य सकारात्मक बनाउनु आवश्यक छ । यसका साथै विवाहजस्तो पवित्र नातालाई बिग्रन दिनु राम्रो कार्य होइन । त्यसैले सम्बन्ध विच्छेद मात्रै समाधान होइन ।
– करुणा उप्रेती, हेटौंडा ।

प्रतिक्रिया दिनुहोस्