बेवारिसे अवस्थामा रहेकालाई लायन्स क्लबको आवासीय व्यवस्थापन (तस्वीरसहित)

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामका लागि देशमा जारी लकडाउनले समस्यामा परेकाहरुको उद्धार भएको छ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा बेवारिसे अवस्थामा रहेका विभिन्न व्यक्तिहरुलाई आवासीय सुविधासहित व्यवस्थापन गरिएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लब अफ बेनी पिस सिटी म्याग्दीद्वारा बेनीमा बेवारिसे तथा एकल जीवन बिताइरहेकालाई खाना खुवाउने तथा बसोबासका लागि आवश्यक सहयोग गरिएको छ । उनीहरुलाई तत्कालका लागि जिल्ला सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा रहेको कार्यक्रमस्थलको भवनमा खाने, बस्ने र सुत्ने व्यवस्थापन मिलाइएको लायन्स क्लबले जनाएको छ ।

बेनीमा रहेका ५ जना बेवारिसे अवस्थाका व्यक्तिलाई सैलुनबाट हजामको सहयोग लिएर उनीहरुको दाह्री, कपाल काटिदिनुका साथै आवासीय व्यवस्थापन गरिएको क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले जानकारी दिए । खुलामञ्चको कार्यक्रमस्थलमा सरसफाई गरेर सुत्नका लागि मच्छेटदानी (झुल)को समेत व्यवस्थापन गरी दैनिक रुपमा खानपानको व्यवस्था गरिएको उनले बताएका छन् ।

सोमबारदेखि खाना खुवाउन थालेको क्लबले मङ्गलबार बेवारिसेहरुको व्यक्तिगत सरसफाई गरिदिएको तथा बसोबासको व्यवस्थापन मिलाएको हो । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चमा राखिएको अवस्थामा लायन्स क्लबले भोजनसहित नुवाइधुँवाईं, लत्ताकपडा, ओड्ने, ओछ्यानेलगायत आवश्यक सहयोग गरेपछि उनीहरूको अनुहारमा उज्यालो छाएको छ ।

५ वर्षभन्दा धेरै भयो ननुहाएका आइते विकले आफूलाई नुहाइदिएपछि निकै हलुङ्गो भएको महशुस गरेको अनुभव सुनाएका छन् । बाक्लो दाही, कपाल र फाटेको लुगा लगाएका आइतेसहित ५ जनालाई सरसफाई गरेपछि क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले ट्याकसुटका साथै लत्ताकपडा हस्तान्तरण गरेका थिए ।

केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लबले सोमबार बिहानदेखि खाना खुवाउने काम सुरू गरेको थियो । सरसफाइसहित व्यवस्थापन गरिएका व्यक्तिहरुको बुधबार स्वास्थ्य चेकजाँच गरिने क्लबका निर्वतमान अध्यक्ष नरेश श्रेष्ठले बताए । खुल्लामञ्चमा बस्ने ५ जनालाई बिहान र बेलुकीको खाना खुवाउने र आगामी दिनमा बसाईलाई सहज बनाउन थप सहयोग गर्ने जनाइएको छ ।

यसअघि ती व्यक्तिहरुलाई म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष बालकृष्ण सुवेदीले खाना खुवाइरहेको अवस्थामा बेनी नगरपालिकाको कार्यपालिका बैठकले सुवेदीलाई धन्यवादज्ञापन गर्दै आफैले जिम्मा लिएर ५४ हजारको खाना खुवाएको थियो ।

पछिल्लोपटक बजारमा मागेर खान थालेको गुनासो आएपछि सरोकारवालासहितको निकायले लायन्स क्लबलाई जिम्मा दिएका हुन् । यसैबीच बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले बैठकमा सहभागी भएवापत आफूलाई प्राप्त ३४ सय रुपैयाँ बेवारिसेलाई भोजनका लागि सहयोग गरेका छन् ।