भक्तपुरका पत्रकारलाई पीपीई सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण

0
Shares

न्युज अफ नेपाल,भक्तपुर

कोरोना भाइरसको त्रासका बिचमा पनि अग्रभागमा रहेर काम गर्ने भक्तपुरका पत्रकारहरुका लागि अत्यावश्यक सुरक्षाका सामाग्रीहरु वितरण गरिएको छ । भक्तपुर इँटा व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी प्रा.ली.ले संयुक्त रुपमा संघको कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा भक्तपुरका ४५ जना पत्रकारलाई करिबरु. एक लाख ५० हजार बराबरको एक थान पिपिई (सुरक्षा कवच), दुई थान एन नाईन्टी फाइभ मास्क र एक थान स्यानेटाइजर वितरण गरिएको हो ।

कार्यक्रममा भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्योम्बाले कोरोना संक्रमणको जोखिममा अग्रभागमा रहेर काम गर्ने संचारकर्मीलाई सुरक्षित गर्नुपर्ने दायित्व सम्झेर सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी प्रा.ली.का अध्यक्ष लक्ष्मीप्रसाद गोराले लकडाउनका कारण ट्रक व्यवसायीले ऋणको किस्ता तिर्न नसकेको बताउदै सरकारले ब्याज मिनाहा गर्ने व्यबस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष विश्वराम कवांले पत्रकार पनि देशको एक सिपाही भएको बताउदै कोरोनाबाट पत्रकारलाई जोगाउन सके देश जोगिने बताउनुभयो । उहाँले सरकारले आगामी बजेटमा इँटा तथा अन्य व्यवबसायीका लागि विशेष राहतको घोषणा गर्नुपर्ने बताउदै व्यवसाय जोगाउन सके मात्रै देशको अर्थतन्त्र जोगिने बताउनुभयो ।

कार्यक्रममा संघका सल्लाहकार एवं प्रा.लीका पूर्वअध्यक्ष नविन प्रजापतिले यसअघि भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र महानगरीय प्रहरी परिषर भक्तपुरलाई पिपिई वितरण गरिसकेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोनाको जोखिममा कतिपय क्रियासिल पत्रकारहरु कार्यक्षेत्र मै खटिएर काम गर्नु परेको बताउनुभयो ।

उहाँले कार्यक्षेत्र मै खटिने पत्रकारहरुलाई निकै जोखिम छ भन्दै यस्तो अबस्थामा पत्रकारलाई सुरक्षा सामाग्री ,स्वास्थ्य बिमाको व्यबस्था र संचारमाध्यम र पत्रकारलाई राहतको माग गर्नुभयो ।