खानेपानीको कुवा मर्मतसम्भार,५० घरधुरी लाभान्वित

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित ढोल्ठानमा रहेको खानेपानीको कुवालाई मर्मतसम्भार गरिएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको सहयोगमा ढोल्ठान गाउँमा रहेको खानेपानीको कुवामा मर्मतसम्भारको काम गरिएको हो ।

चालु वर्षको बजेटमध्ये एकलाख रुपैयाँको लागतमा ढोल्ठानमा खानेपानीको कुवाको मर्मतसम्भार तथा संरक्षण गरिएको वडा कार्यालयले जनाएको छ । कुवाभन्दा बाहिर २ मिटर २० सेन्टिमिटरको लम्बाई र डेढ मिटर चौडाई रहेको सिमेन्ट प्लाष्टर गरिएको छ भने कुवाभित्र १ मिटर ४५ सेमी लम्बाई तथा ५० सेन्टिमिटरको उचाई रहेको कुवामा ढलान गरिएको छ ।

ढोल्ठान गाउँभन्दा केही तल रहेको खानेपानीको कुवा जिर्ण बन्दै जान थालेपछि वडा कार्यालयमार्फत बजेट व्यवस्थापन गरेर कुवाको मर्मतसम्भार गरिएको जनाइएको छ । खानेपानीको कुवा मर्मत गरिएसँगै ढोल्ठान गाउँसहित आसपासका क्षेत्र गरी कुल ५० घरधुरी लाभान्वित भएको ढोल्ठानका स्थानीय समेत रहेका बेनपा–९ घतानका वडा सदस्य भेषबहादुर सेनले जानकारी दिएका छन् ।

उनका अनुसार खासगरी हिउँदको समयमा ढोल्ठानवासीले पिउने, नुहाउने तथा बस्तुभाउलाई उक्त कुवाको पानी प्रयोग गर्दै आइरहेका छन् । चालु वर्षमा घतानको सबै ठाउँमा खानेपानीको समस्या समाधान गर्न तथा मर्मतका लागि भनेर वडामार्फत कुल साढे १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा सदस्य सेनले बताए ।

विगतमा ढोल्ठानमा रहेको यस कुवाको पानी ढोल्ठानका साथै धुपीबोट, घतान र पुलावासीले समेत प्रयोग गर्ने गर्दथे । ढोल्ठान गाउँमा गाजनेको धुँवाखोलाबाट समेत खानेपानी ल्याएर व्यवस्थापन गरिएको छ ।

ढोल्ठानको साथै बेनी नगरपालिकाको अधिकांश ठाउँमा हिउँदको समयमा खानेपानीको समस्या हुने गरेको छ । सरकारले मुहानदेखि मुखसम्म शुद्ध पिउने पानी तथा ‘एक घर, एक धारा’को अभियान सञ्चालन गरेको भए पनि त्यसको कार्यान्वयन गर्ने निकायले प्रभावकारी काम गर्न नसक्दा खानेपानीका योजनाहरु सफल हुन सकिरहेका छैनन् ।