कोरोना जोखिमका बीच भक्तपुरका ८५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

0
Shares

पुष्करराज बुढाथोकी,भक्तपुर ।

भक्तपुरमा कोारोना संक्रमणको जोखिम बढदै जाँदा पछिल्लो समयमा ८५ जनाको ‘पोलिमराइज चेन रिएक्सन’ (पीसीआर) रिपोर्ट नेगेटिभ आएको छ ।भक्तपुरका कोरोना संक्रमित तेस्रो पुरुषको परिवार सहित १२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका ती पुरुषको ११ जना परिवार र १ स्थानीयको रिपोर्ट नेगेटिभ आएको हो । काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक भक्तपुर नपा ५ योसिंखेल निवासी ४२ वर्षीय पुरुषको घरपरिवारसहित १२ जनाको कोरोना भाइरस परीक्षण नेगेटिभ ती पुरुषमा गत मंगलबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमित पुरुषको काठमाडौँको बलम्वुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार भइरहको छ ।बुधबार ती संक्रमितको ११ जना परिवार सदस्य र प्रत्यक्ष सम्पर्कमा रहेका १ जना गरी १२ जनाको ‘नोजल स्वाब’ संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी लगायत ७१ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाले ‍र्यापिट डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गराउँदा २ जना कर्मचारीमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि जनप्रतिनिधि, कर्मचारी लगायत १ सय ४३ को पीसीआर परीक्षण गराएको थियो ।

जसमध्ये ७१ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । अन्यको रिपोर्ट आउन बाँकी रहेको वडा नम्बर ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो । आरडीटी रिपोर्ट पोजिटिभ आएका दुवैजना कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक प्रधानले सुरुमा आरडीटी पोजिटिभ आएका वडा सचिव र सफाइ मजदुरको पीसीआर नेगेटिभ यसअघि नै आइसकेको बताउनुभयो ।

१४३ जनाको परीक्षण भएकोमा आज बिहानसम्ममा ७० जनाको रिपोर्ट आएको वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिनुभयो ।जनप्रतिनिधि र कर्मचारीको कोरोना भाइरस परीक्षणका क्रममा शुक्रबार वडा नम्बर ९ की वडा महिला सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित महिलालाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।उनको स्वास्थ्य अवस्था सामान्य गरेको नगरपालिकाले जनाएको छ । कोराना भाइरस संक्रमण पुष्टि भएकी महिलाको परिवार सहित प्रत्यक्ष सम्पर्कमा रहेका १९ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । उनलाई पाटन अस्पतालको आइसोलेसनमा पठाएर उनी बस्ने भक्तपुर नपा ९ तुमचो क्षेत्रमा सिल गरिएको छ ।

उनको परिवारमा श्रीमान, एक छोरा र एक छोरी छन् ।ज्याख्वका अनुसार नगरपालिकामा ४६ जनप्रतिनिधि, १६० सफाइ कर्मचारी र ४१ स्वास्थ्य कर्मचारी रहेका छन् ।परीक्षण गर्न बाँकी रहेकाको परीक्षण गर्ने क्रम चलिरहेको छ ।आइतबार ती संक्रमित जनप्रतिनिधिको सम्पर्कमा आएका १६ जनाको कन्टाक्ट ट्रेसिङ भइसकेपछि १९ जनाको स्वाब संकलन गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

भक्तपुरका संक्रमित चारजनामध्ये सुरुमा पुष्टि भएका २५ वर्षीया महिला र २७ वर्षीय सशस्त्र प्रहरीका जवान भने कोरोना भाइरसलाई जितेर डिस्चार्ज भइसकेका छन् ।

त्यसैगरी कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको शव व्यवस्थपनमा खटिएका भक्तपुरका दुई युवा स्वयंसेवक अरुण सैँजु र राजेश गाइजुको कोरोना रिपार्ट नेगेटिभ आएको एसपी प्रधानले जनाकारी दिनुभएको छ ।उनीहरुलाइ सुर्यविनायकस्थित वीरदल गणको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरुले धुलिखेल अस्पतालबाट कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको शब पशुपतिस्थित आर्यघाटमा लगेर व्यवस्थापन गरेका थिए ।सुनसरीबाट काठमाडौं आएकी २५ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि भक्तपुरको थिमि, शंखधर चोकछेउका सात घर प्रशासनले ३१ वैशाखमा सिल ग‍रेकोमा १३ दिनपछि आइतबार सिल खुलाएको छ ।

संक्रमित युवती चार दिनअघि जेठ ८ मै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भइसकेकी छिन् । थिमिमा उनी बसेको घरवरिपरिका २५ जनाको रिपोर्ट पनि नेगेटिभ आइसकेको थियो । संक्रमित युवतीका साथी, परिवारका सदस्य र उनलाई काठमाडौं ल्याउने मोटरसाइकल चालकको रिपोर्ट पनि नेगेटिभ आइसकेको छ ।

भक्तपुर प्रशासनले ती युवती बसेको टोल र संक्रमित सशस्त्र प्रहरी जवान बसेको दुवाकोटमा आइतबार सिल खुलाएको हो । तर थप १४ दिन क्वारेन्टाइनमा बस्न उनीहरूलाई प्रहरी र प्रशासनले सचेत गराएको छ ।विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणविरुद्ध लड्न भक्तपुरले तीन तहको योजनासहित तयारी अघि बढाएको छ।

भक्तपुरस्थित संकट व्यवस्थापन समिति (सीएमसी) ले कोभिड १९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टाइन, उपचार तथा आइसोलेसन र संक्रमितको ज्यान गए मृतकको शवको उचित व्यवस्थापनसम्मको गरी तीन तहको तयारी अगाडि बढाएकोे छ।

देशैभरि कोरोना फैलिएसँगै भक्तपुर पनि कोरोनाको उच्च जोखिममा छ । हालसम्म यहाँ चारजना संक्रमित भेटिसकेका छन् । संक्रमण समुदायमै र जनप्रतिनिधिमा समेत देखिए पछि स्थानीय थप चिन्तित,सचेत र सतर्क भएका छन् ।तर पछिल्लो पीसीआर नेगेटिभ आएको नतिजाले स्थानीयमा केही सहज महसुस पनि गराएको छ ।