न्युज अफ नेपाल,तनहुँ ।
पौडी खेल्ने क्रममा सेतीनदीमा डुबेर सोमबार एक युवकको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीका रामबहादुर मगरको घरमा डेरा गरी बस्ने २६ वर्षीय पप्पु नाम गरेका युवकको पौडी खेल्न क्रममा डुबेर मृत्यु भएको हो ।
नाम थर र वतन खुल्न नसकेका ती व्यक्ति केही महिना अघिदेखि शुक्लागण्डकी नगरपालिका क्षेत्रमा कबाडी सामान संकलन गर्ने र एक्लै डेरा गरी बस्दै आएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका ४ र शुक्लागण्डकी ८ नं जोड्ने पक्की पुल भन्दा माथि सेती नदीमा पौडी खेल्दै गर्दा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।
पौडी खेल्ने क्रममा बाकटे हान्दा डुबेका ती व्यक्तिलाई एक छिन पछि नदीले बगाएको वस्तु हेर्न गएका गोठालाहरुले देखेपछि प्रहरीमा खबर गरेको रेग्मीले बताउनुभयो । प्रहरी टोली घटनास्थल पुग्दा मृत्यु भइसकेको अवस्थामा भेटिएको उहाँको भनाई छ ।
‘नदीले बगाउँदै गरेको गोठालाहरुले देखेपछि ती व्यक्तिलाई समाएर नदी किनारमा उतारेर सहयोग गरेका रहेछन्,’ उहाँले भन्नुभयो । मधेसी मुलको जस्तो देखिने ती मृतकको आफन्तजनको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । मृतकको शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको छ ।











प्रतिक्रिया